गेजिङ: क्षेत्र विधायक तथा सिक्किम सरकारका भवन एवं श्रम मन्त्री भीमहाङ सुब्बाले आज याङ्थाङ ग्राम पञ्चायत एकाइभित्रको चुङजुङ वार्डमा पैह्रो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरे। यस अवसरमा बागबाणी बोर्डमा ओएसडी करण मगर, स्थानीय पञ्चायत अध्यक्ष सोमनाथ शर्मा साथै पञ्चायत सदस्यहरू अनि क्षेत्रवासीको पनि उपस्थिति रहेको थियो।
निरीक्षणको क्रममा मन्त्री सुब्बाले हालैको पैह्रोले गम्भीर क्षति पुर्याएका सार्वजनिक सम्पत्ति र घरपरिवारहरूको अवस्थाबारे जानकारी लिए। उनले प्रभावित परिवारहरूलाई राज्य सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइने आश्वासन दिँदै बर्खा मासमा विशेष सतर्कता अपनाउने क्षेत्रवासी सबैलाई आग्रह गरे।
उल्लेखनीय छ, हालको पैह्रोले विशेष गरेर चुङजुङ वार्ड नम्बर एकमा सर्वाधिक क्षति पुऱ्याएको छ। यहाँको नयाँ सड़कमा जमीन धस्केर कम्तिमा १९ परिवार प्रभावित बनेको छ। तीमध्ये ६ परिवारलाई तत्काल सुरक्षित स्थानमा सारिएको छ भने अन्यलाई स्थायन समाज गरमा राखिएको छ।
आज भ्रमणको क्रममा मन्त्री सुब्बाले प्रभावित परिवारलाई खाद्यान्न सामग्री, ब्ल्याङ्केट साथै नगद सहयोग प्रदान गरेका छन्। साथै ग्राम पञ्चायत इकाइको तर्फबाट पनि आवश्यक सामग्रीहरू प्रदान गरिएको छ।