सोनादा: सोनादाको खोङ खोला पम्प हाउस-को घटनालाई लिएर सुरक्षा कर्मचारीलाई निलम्बन गरिएको छ। आईतबार भएको घटनालाई लिएर दार्जिलिङ नगरपालिकाको चेयरम्यान दिपेन ठकुरीले गहिरो समवेदना प्रकट गरेका छन्। आइतबार अपरान्ह भएको उक्त घटनालाई केन्द्र गरेर अर्कोतिर सुरक्षा कर्मीहरु निलम्बन गरेर जाँच पडताल शुरु गरिएको उनले बताएका छन्। हाल अचल अवस्थामा रहेको उक्त पम्प परिसरको जमा पानीमाथिको औचित्यबारे पनि प्रश्न खडा हुने ठकुरीले आश्चर्य प्रकट गरेका छन्। उल्लेखनीय छ, सोनादा क्षेत्रको खोङ खोलामा आईतबार पम्प हाउसमा पौडी खेल्ने क्रममा दुईजनाको दु:खद मृत्यु भएको थियो। उक्त घटनामा अप्पर सोनादा निवासी प्रकाश तामाङ (१६ वर्ष) र आर्यन तामाङ (१७ वर्ष) को घटनास्थलमा नै मृत्यु भएपछि स्थानीयहरुमा शोकको लहर छाएको छ भने घटनालाई लिएर जाँच शुरु गरिएको जानकारी प्राप्त भएको छ।