दार्जिलिङ: चियाबारी श्रमिकहरुको बीस प्रतिशत बोनसको मांग गर्दै कोलकातामा अनित थापाले राज्यको श्रम मन्त्रीसित भेट गरेका छन्। यस विषयमा प्रेस विज्ञप्ति जारी गर्दै जीटीए प्रमुख अनित थापाले भने, मैले आज कोलकातामा पश्चिम बंगाल सरकारका सम्माननीय श्रम मन्त्री मलय घटकसँग भेट गरे। भेटघाटको औचित्य दार्जिलिङ चिया बगान श्रमिकहरुको बोनस मुद्दाको समाधान र २०% बोनसको माग विषय रहेको थियो। भेटघाट समय उठाइएको मुद्दालाई मैले एक ज्ञापन पत्र मार्फत् पनि जनाएको छु।’
उनले अघि भने, ‘मैले पत्रमार्फत दार्जिलिङका चिया बगान श्रमीकहरूले वर्षेनी पाउने बोनसको भुक्तानीमा देखिएको समस्या तर्फ मन्त्रीको ध्यानाकर्षण गराउदै भनेको छु कि प्रत्येक वर्ष, पूजा पर्व नजिकिँदै गर्दा बोनसमा हुने ढिलाइ, बिवाद र समस्याका कारण श्रमिकहरूले अन्यौलता, चिन्ता र दुःख झेल्नुपरेको छ। यी श्रमिकहरू आफ्नो परिवार पाल्नको लागि यही आम्दानीमा भर पर्छन्।’
थापाले अझ भने, ‘मैले भने कि दार्जिलिङको चिया बगानका श्रमिकहरू विश्वप्रसिद्ध चियाको सफलताको मेरुदण्ड हुन्। तर, उनीहरूले आफ्नो अधिकार पाउन हरेक वर्ष संघर्ष गर्नुपरेको छ। बोनसको विषयमा स्थायी समाधान नहुँदा समस्याहरू दोहोरिइरहेका छन्। यस वर्ष श्रमिकहरूले २०% बोनसको माग गरेका छन्। चियाको मूल्य र जीवनयापन खर्च बढेको सन्दर्भमा बोनस वृद्धि जायज छ। यी माग निष्पक्ष र न्यायोचित छन्।’
थापाले प्रेस विज्ञप्ति भनेका छन्, ‘मैले यसै सन्दर्भमा, अपील गर्दै श्रम विभाग र अन्य सरोकारवालाहरूलाई मिलिजुली छलफल गरी श्रमिकहरूको हितमा निर्णय गर्न आग्रह गरेको छु, ताकि चिया बगानमा दीर्घकालीन शान्ति र स्थायित्व रहोस्। हाम्रा चिया बगानका श्रमिकहरूको न्यूनतम न्याय र हक सुनिश्चित गर्न मन्त्री ज्यूको नेतृत्वमा चाँडै हस्तक्षेप र उचित कदम अपेक्षा गरेको छु।’