खरसाङ: खरसाङ नगरपालिका अधीनस्थ सबै सरकारी, गैर सरकारी कार्यालयहरु, विद्यालयहरु, दोकान पाटहरु सबैतिर आगामी २० अगस्त अघि नै नेपाली भाषामा साइन बोर्डहरु लेखिदिने निर्देशन जारी गर्दै आज खरसाङ नगरपालिकाद्वारा माईकिङ गरेर सूचना दिइएको छ। खरसाङ नगरपालिकाको चेयरम्यान र भाइस चेयरम्यानको निर्देशनमा खरसाङ बजारको विभिन्न स्थानहरुमा माईकिङ गरेर सूचना जारी गर्दै नेपाली भाषामा साइन बोर्डहरु लेखिदिने निर्देशन जारी गरिएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको तर्फबाट नेपाली भाषा प्रयोगलाई लिएर नोटिफिकेसन जारी गरेको एक वर्ष हुन लागेको र यसै कुरालाई ध्यानमा राखेर खरसाङ नगरपालिकाको तर्फबाट आज खरसाङ बजारमा माईकिङ गरेर नेपाली भाषामा साइन बोर्डहरु लेखिदिने अनुरोध गरिएको बताएका छन्। उनले जीटीएले जारी गरेको नोटिफिकेसन र खरसाङ नगरपालिकाको गरिमालाई ध्यानमा राखेर खरसाङ नगरपालिका अधीनस्थ सबै सरकारी र गैर सरकारी कार्यालयहरु, दोकान पाटहरु साथै स्कूलहरुमा नेपाली भाषामा नै साइन बोर्डहरु २० अगस्त अघि नै लेखिदिने अनुरोध गरेका छन्।