गान्तोक: सिक्किम फूटबल एसोसिएशनका अध्यक्ष मेन्ला इथेन्पा अल इण्डिया फूटबल फेडरेशनका वित्त समितिका अध्यक्षको पदमा नियुक्ति भएका छन्। कोलकत्तामा गत १९ सेप्टेम्बरको दिन सम्पन्न अल इण्डिया फूटबल फेडरेशनको कार्यकारी समितिको बैठकले उनलाई वित्त समितिको अध्यक्षको पदमा नियुक्त गरेको हो। यसको साथै सिक्किम फूटबल एसोसिएशनका अन्य तीन अधिकारीहरूलाई पनि विभिन्न समितिमा सदस्यको रुपमा चयनित गरेको छ। उक्त कार्यकारी समितिको बैठकले क्रमैले एसएफएका कार्यकारी अध्यक्ष छुङछुङ भोटियालाई अल इण्डिया फूटबल फेडरेशनका फूटसल समितिका सदस्य, एसएफएका उपाध्यक्ष डा. सोनाम टी. इथेन्पालाई अल इण्डिया फूटबल फेडरेशनको मार्केटिङ समितिका सदस्य अनि एसएफएका उपाध्यक्ष श्याम प्रधानलाई अल इण्डिया फूटबल फेडरेशनको पूर्वाधार विकास समितिको सदस्य नियुक्त गरेको छ। एसएफएका यी चारैजना अधिकारीलाई चार वर्षको निम्ति पदभार सुम्पिएको हो। एसएफएका सदस्यहरूलाई अल इण्डिया फूटबल फेडरेशनको प्यानलमा समावेश गरेकोमा मेनला इथेन्पाले एआईएफएफका अध्यक्ष कल्याण चौबेप्रति आभार व्यक्त गरेका छन्।