गान्तोक: सिक्किम सरकारको पशुपालन तथा पशु चिकित्सा सेवा विभागले सिक्किम एन्टी–रेबिज एण्ड एनिमल हेल्थको सहकार्यमा पूर्व सिक्किमअन्तर्गत छुजाछेन निर्वाचन क्षेत्रको विभिन्न स्थानमा व्यापक एन्टी–रेबीज खोप, दबाई वितरण, पशु जन्म नियन्त्रण तथा जनचेतना कार्यक्रम सञ्चालन गऱ्यो। पशुहरबाट मानिसमा सर्ने रोग विशेषगरी रेबिज नियन्त्रण गर्ने उद्देश्यले सञ्चालन गरिएको यस अभियानले राज्यमा रेबिजका घटनाहरू घटाउने महत्त्वपूर्ण भूमिका खेलेको विभागको भनाइ छ। कार्यक्रमअन्तर्गत जम्मा ४३२ वटा कुकुरलाई खोप तथा कृमिनाशक औषधि दिइयो भने १०७ वटा कुकुरमा पशु जन्म नियन्त्रण प्रक्रिया सम्पन्न गरियो। यस क्रममा छुजाछेन, रंगेली बजार, लिङ्ताम, अगमलोक, फदमचेन, निमा्चेन, क्वाखोला, बखुटार, माने–सिस्ने, तालखर्का दक्षिण रेगु, र उत्तर रेगु क्षेत्रमा कार्यक्रम सञ्चालन गरिएको थियो। जनावरले टोकेर मानिसमा सर्ने गम्भीर रोग रेबिज अझै पनि सार्वजनिक स्वास्थ्यका लागि चुनौती बनेको विषयमाथि ध्यान केन्द्रित गर्दै जागरुकता कार्यक्रममा प्रमुखता दिएको हो। अधिकांश रेबिजका केसहरू कुकुरको टोकाइसँग सम्बन्धित हुने भएकाले विभागले जनसहभागिता, समुदायस्तरको सचेतना र सार्वजनिक सहयोगलाई ध्यानमा राखेर कार्यक्रम गर्दै आएको छ।