सोरेङ: एनजीसी तिक्पुर तिक्पुरमा आयोजित स्वर्ण जयन्ती फुटबल टुर्नामेन्टको च्याम्पियन बनेकाे छ। निर्धारित समयमा खेल बराबरीमा समाप्त भएपछि खेलको निर्णय टाइब्रेकरद्वारा गरियो। टाइब्रेकरमा एनजीसी तिक्पुरले युनिटी बोइज सोरेङलाई ३ गोलको विरुद्ध ४ गोलले पराजित गरयाे।
टुर्नामेन्टको विजेता र उपविजेता दललाई क्रमशः ट्रफीसहित नगद राशि एक लाख पचास हजार र एक लाख रुपियाँ मुख्य अतिथि कुङ्गा निमा लेप्चाको हातबाट प्रदान गरियो।
सरकारी माध्यमिक विद्यालय तिक्पुरले आयोजना गरिरहेको नौं दिवसीय स्वर्ण जयन्ती समारोह आज समापना भएको छ। समापन कार्यक्रममा शिक्षा मन्त्री कुङ्गा निमा लेप्चा प्रमुख अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रममा क्षेत्र विधायक एवं मन्त्री एमएन शेर्पा, स्टेट ब्याङ्क अफ् सिक्किमका अध्यक्ष डीबी गुरुङ, सिक्किम राज्य व्यापार निगमका सल्लाहकार एनटी भोटिया, जिल्ला पञ्चायत अध्यक्ष देविका सुब्बा, राज्य अनुसूचित जनजाति कल्याण बोर्डका अध्यक्ष प्रेम कुमार सुब्बा, पूर्व विधायक डीएन शेर्पा, जिल्लापाल भीम ठटाल, प्रताप अन्तर्राष्ट्रिय स्कूलका निर्देशक एसएम सुब्बा, सीएलसी अध्यक्ष टीका हाङ सुब्बा आदि उपस्थित थिए।
स्मरण रहोस्, तिक्पुर स्कुलको सन् १९७२ सालमा कमिटी स्कूलको रूपमा स्थापना भएको थियो। फेरि १९७३ मा तिक्पुर स्कूलले सरकारी स्कूलको रूपमा मान्यता पाए। प्राथमिक स्कूलको रूपमा शैक्षिक यात्रा शुरु गरेको तिक्पुर स्कूल बढोत्तरी भएर १९९८ निम्न माध्यमिक स्कूल बने। पछि २००९ मा तिक्पुर स्कूललाई सरकारले बढोत्तरी गरेर माध्यमिक स्कूल बनाए।
मुख्य अतिथि मन्त्री लेप्चाले दरामदिन समष्टि स्तरीय अन्तर विद्यालय तर्क प्रतियोगिताका विजेता र उपविजेता, साँस्कृतिक कार्यक्रम अन्तर्गत नृत्य प्रतियोगिताका प्रथम, दोस्रो र तेस्रो अनि हाजिरी जवाफ प्रतियोगिताका विजेतालाई पनि नगद राशि र पुरस्कार प्रदान गरे।