खरसाङ महाविद्यालयको ५९औं स्थापना दिवस साथै नयाँ भवनको उदघाटन

IMG-20250817-WA0112

हाम्रा विद्यार्थीहरूले आफ्नो ठाउँकै विद्यालय र महाविद्यालयहरूमा अध्ययन गर्नु पाउनुपर्छ: अनित थापा

खरसाङ: खरसाङ महाविद्यालयको ५९औं स्थापना दिवस समारोह साथै स्वर्ण जयन्ती समारोह शैक्षिक भवनको उदघाटन समारोह विविध शैक्षिक र सांस्कृतिक कार्यक्रमहरूका साथ सम्पन्न भएको छ। महाविद्यालय सञ्चालन समितिको सभापति एंव वरिष्ठ साहित्यकार डा जस योञ्जन प्यासीको अध्यक्षता र गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रमको शुरुमा डा. जस योञ्जन प्यासी र जीटीएको प्रमुख कार्यपाल अनित थापाको बाहुलीबाट रिबन काटेर खरसाङ महाविद्यालयको नयाँ भवनको उदघाटन गरिएको छ।‌ त्यसपछि कार्यक्रममा खरसाङ महाविद्यालयको संस्थापकहरु क्रमैले पीटी लामा, डीबी छेत्री र डीएन प्रधानको तस्वीरमा पुष्पार्पण साथै धुप दीप प्रज्वलन गरी श्रध्दाञ्जली अर्पण गरिएको छ। प्राध्यापक डा. सपन प्रधानले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण प्राध्यापक गंगाप्रसाद शर्माले राखेका थिए। कार्यक्रममा स्वागत नृत्यको रुपमा मारुनी नृत्य प्रस्तुत गरिएको थियो‌। कार्यक्रममा खरसाङ महाविद्यालयका प्राचार्य डा. समीर बलले महाविद्यालयको वार्षिक रिपोर्ट प्रस्तुत गरेका थिए‌। वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा प्राचार्य डा. समीर बलले खरसाङ महाविद्यालयको भौतिक उन्नतिका लागि नौवटा नयाँ कक्षाकोठा र स्वर्ण जयन्ती शैक्षिक भवन निर्माणादि गरिदिएकामा मुख्य अतिथिका रूपमा उपस्थित गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका मुख्य कार्यपाल अनित थापाप्रति पनि महाविद्यालयको पक्षमा कृतज्ञता व्यक्त गरे। प्राचार्य समीर बलले खरसाङ महाविद्यालयमा उल्लेखनीय शैक्षिक योगदान दिने
विभिन्न शैक्षिक र साहित्यिक उपलब्धि प्राप्त गर्ने प्राध्यापकहरूलाई पनि बधाई दिए भने महाविद्यालयको उन्नतिका लागि शैक्षिक र र शैक्षिकेतर कार्यकलापमा सक्रिय रुपमा सहभागी बन्दै विभिन्न किसिमका उपलब्धि प्राप्त गर्ने विभिन्न विभागका सम्बन्धित विद्यार्थीहरूलाई उनीहरूका शैक्षिक र शैक्षिकेतर उपलब्धिका बारेमा पनि सङ्क्षिप्तमा प्रकाश पारी उनीहरूलाई पनि बधाई दिएका छन्। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा जीटीएको मुख्य सल्लाहकार अमर लामा, सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद अनोश थापा, क्षेत्रीय सभासद श्याम शेर्पा, डा. अनुराधा राई, वरिष्ठ पत्रकार केशव प्रधान लगायत अन्यहरु उपस्थित रहेका थिए। कार्यक्रममा खरसाङ महाविद्यालयको नयाँ भवन निर्माणको लागि जीटीए प्रमुख अनित थापालाई धन्यवाद ज्ञापन गर्दै विद्यार्थीहरुद्वारा गीत प्रस्तुत गरिएको थियो। यसै कार्यक्रममा विभिन्न पुरस्कारहरु प्रदान गरिएको थियो। यस क्रममा डीबी छेत्री पुरस्कार र पीडी लामा पुरस्कार, रुकमणि छेत्री पुरस्कार, डीएन प्रधान र एनएन प्रधान पुरस्कारहरु प्रदान गरिएको थियो‌। कार्यक्रममा कलेजका विद्यार्थीहरु, विभिन्न विषयमा पीएचडी पूरा गर्नेहरु साथै नयाँ भवन निर्माण कार्यमा सहयोग पुराउनेहरु त विभागीय व्यक्तिहरुलाई पनि सम्मान जनाइएको छ। कार्यक्रममा जीटीए प्रमुख अनित थापालाई पनि खरसाङ महाविद्यालयको तर्फबाट सम्बर्ध्दना जनाइएको छ। कार्यक्रमको शुभारम्भ महाविद्यालयका प्राचार्य डा. समीर बल अनि मुख्य अतिथि र विशिष्ट अतिथिहरूद्वारा महाविद्यालयको झण्डोत्तोलन अनि महाविद्यालयको परिसरमा अवस्थित महाविद्यालयका संस्थापक सदस्यद्वय डी. बी. छेत्री र एन. एन. प्रधानको सालिगमा श्रद्धाञ्जलिस्वरूप पुष्पार्पण तथा माल्यार्पण गरिएर गरियो‌। यसको साथै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सहयोगमा निर्मित खरसाङ महाविद्यालयको स्वर्ण जयन्ती शैक्षिक भवनको पनि विधिवत् रूपमा मुख्य अतिथिको बाहुलीबाट उद्घाटन गरियो। यसपछिका अन्य कार्यक्रम महाविद्यालयको नयाँ शैक्षिक प्रेक्षालयमा सम्पन्न गरियो।


कार्यक्रममा मुख्य अतिथि अनित थापा र विशिष्ट अतिथि केशव प्रधानले पनि यस कार्यक्रममा आफ्ना मन्तव्य प्रकट गरेका थिए। मुख्य अतिथिका रूपमा उपस्थित रहेका गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका मुख्य कार्यपाल अनित थापाले सम्बोधन गर्ने क्रममा खरसाङ महाविद्यालयलाई यस क्षेत्रको उम्दा र प्रमुख महाविद्यालय बनाउनपर्छ भन्दै उनले आफू पनि खरसाङ महाविद्यालयको उन्नतिका लागि सकेसम्म लागिपरिरहेको र लागिपरिरहनु पर्ने जनाए। उनले हाम्रा विद्यार्थीहरूले आफ्नै ठाउँकै विद्यालय र महाविद्यालयहरूमा अध्ययन गर्नुपर्ने कुरोमा जोड् दिए। उनले अहिले दार्जिलिङ पहाड़मा विद्यार्थी र शिक्षक दुवैका लागि शिक्षा प्राप्त गर्नलाई राम्रो र शान्तिपूर्ण वातावरण रहेको जनाए। उनले खरसाङ महाविद्यालयले राम्रो शैक्षिक कार्यहरू गरी राम्रो शैक्षिक उपलब्धि प्राप्त गरिरहेका पनि महाविद्यालयका प्राचार्य डा समीर बलप्रति आफू सन्तुष्ट रहेको पनि जनाउँदै उनको प्रशंसा गरे। विशिष्ट अतिथिका रूपमा उपस्थित वरिष्ठ पत्रकार केशव प्रधानले मन्तव्य प्रकट गर्ने क्रममा उनले आफूलाई खरसाङ महाविद्यालयले सम्झना र सम्मान गरेकामा खरसाङ महाविद्यालयलाई धन्यवाद गर्दै खरसाङ महाविद्यालयले शैक्षिक उन्नति गरेकामा खरसाङ महाविद्यालयको प्रशंसा गरे। उनले अधिकांश विद्यालयहरूको मोटो (आप्तवाक्य) अनेपाली भाषामा हुने गरेका तर खरसाङ महाविद्यालयका चाहिँ आफ्नै भाषा-साहित्यका अजरअमर कवि लक्ष्मीप्रसाद देवकोटाका यथार्थिक र दूरदर्शी भनाइ नै रहेकोले यसलाई पनि खरसाङ महाविद्यालयको एउटा राम्रो पक्ष हो भनी बताएका छन्। उनले खरसाङ महाविद्यालयमा साझा कार्यसंस्कृति र साझा विकासको भावना पाएकोमा पनि हर्ष व्यक्त गरे। सभाध्यक्षीय सम्भाषण प्रस्तुत गर्ने क्रममा जस योञ्जन ‘प्यासी’ले आफूले खरसाङ महाविद्यालयमा शिक्षण गर्दाताकका केही तीतामीठा सम्झनाहरूलाई साझा गरे भने एक ताक खरसाङ महाविद्यालयका विद्यार्थीहरूले महाविद्यालयको भवन निमार्णादिको लागि आर्थिक सहयोग प्राप्त गर्नलाई आयोजन गरिएको एउटा साङ्गीतिक कार्यक्रमलाई उनी आफू आकाशवाणी खरसाङको कर्मचारी हुँदाहुँदै पनि कार्यक्रम सञ्चालन गरिदिएर सहयोग गरेको कुरोलाई पनि साझा गरेका‌ थिए। यसका साथसाथै डा प्यासीले खरसाङ महाविद्यालयले थुप्रै राम्रा राम्रा विद्यार्थी र सफल व्यक्तिहरू तयार गरेका कुरोलाई पनि प्रशंसा गरे। उनले अहिले खरसाङ महाविद्यालयमा राम्रा शैक्षिक व्यवस्था र प्राध्यापकहरू भएकाले विद्यार्थीहरूले खरसाङमा महाविद्यालयमा अध्ययन गरेर शैक्षिक सुविधाहरूको सदुपयोग गर्ने सुझाव विद्यार्थीहरूलाई दिए। डा. प्यासीले डा. समीर बल जस्ता असल प्राचार्य खरसाङ महाविद्यालयले पाएकोले प्राचार्यसित मिलेर हामीले राम्रा कामहरू गर्नुपर्ने जनाए। यसका साथसाथै प्यासीले खरसाङ महाविद्यालयमा प्राध्यापनरत राज्य अधीनस्थ महाविद्यालय शिक्षक (SACT)हरूले इमानदारीसाथ गरिरहेकाका कार्य र उपलब्धिहरूका बारेमा पनि मुग्धकण्ठले प्रशंसा गरे।
यस कार्यक्रममा गत वर्षको स्थापना दिवसदेखि यस वर्षको स्थापना दिवसको कालावधिमा विभिन्न शैक्षिक र शैक्षिकेतर उपलब्धि प्राप्त गर्ने प्राध्यापक र विद्यार्थीहरूलाई पनि सम्मान जनाइयो। विद्यावारिधीको उपाधि प्राप्त गर्ने महाविद्यालयका प्राध्यापकद्वय डा. चञ्चल अधिकारी र डा. विप्लव दास, विद्यावारिधी शोधनिर्देशन गर्ने प्राध्यापकद्वय डा. कनककान्ति वैश्य र डा. अमित शङ्कर अनि खरसाङ महाविद्यालयमा २५ वर्षभन्दा अधिक प्राध्यापन गरिसकेका प्राध्यापकद्वय डा. प्रकाश मोहरी र प्राध्यापक गङ्गाप्रसाद शर्मालाई खरसाङ महाविद्यालय परिवारको पक्षमा मुख्य अतिथि अनित थापाको बाहुलीबाट खदार्पण गर्दै स्मृतिचिह्न प्रदान गरी सम्मान जनाइयो भने उल्लेखनीय अनुसन्धानात्मक कार्यहरू गर्दै विशिष्ट उपलब्धि प्राप्त गर्ने खरसाङ महाविद्यालयका सहायक प्राध्यापक डा. शङ्करप्रसाद शाह र डा. दावा शेर्पालाई पनि सम्मानस्वरूप खदार्पण गरी स्मृतिचिह्न प्रदान गरियो। स्नातक र स्नातकोत्तर विभागका सर्वोच्च अङ्क प्राप्त गरी सफल हुने स्नातक तहका विद्यार्थीहरू- सिर्जाना छेत्री, अनामिका राई, रक्षा प्रधान, भाष्कर उपाध्याय, रिङ्की दास, प्रगति राई, कृषला थापा, रविना खातुन, श्रध्दा छेत्री अनि स्नातकोत्तर (एम. ए.) नेपालीका विद्यार्थी प्रियङ्का देवानलाई विशिष्ट अतिथि अमर लामाको बाहुलीबाट सम्बर्ध्दनास्वरूप खदार्पण गर्दै स्मृतिचिह्न र प्रमाणपत्र प्रदान गरियो। सम्बर्ध्दना जनाउने क्रममा विभिन्न विभागका विद्यार्थीहरू दीपराज छेत्री, केसाङ शेर्पा, निशा रावत, प्रियांशु छेत्री, रनेशा सेवा र आकृति छेत्रीलाई उनीहरूले एन. सी. सी. र खेलकुद क्षेत्रहरूमा प्राप्त गरेका उपलब्धिहरूलाई कदर गर्दै सम्मानित गरियो। विद्यार्थी निरूपमा चौधरीको अनुपस्थितिमा उनको अभिभावकलाई सम्बन्धित स्मृतिचिह्न प्रा. गङ्गाप्रसाद शर्माको बाहुलीबाट प्रदान गरियो। यस वर्षको सर्वोत्कृष्ट अशिक्षण कर्मचारीको रूपमा पुस्तकालय कर्मचारी नरबहादुर छेत्रीलाई पनि प्राचार्यको बाहुलीबाट प्रमाणपत्र र नगद राशि प्रदान गरियो भने विशिष्ट अतिथि श्याम शेर्पा, अमर लामा, अनोश थापा, विश्वास गुरुङलाई साथै स्वर्ण जयन्ती शैक्षिक भवनका निर्माणकर्ता अभियन्ता र ठेकादारहरू सुदर्शन छेत्री, नारायण छेत्री, सूरज थापा, आनन्द मग्राती, विरेन्द्र प्रसाद र पवन राईलाई पनि खरसाङ महाविद्यालका पक्षमा प्राचार्यद्वारा सम्मानसहित खदार्पण गरी स्मृतिचिह्न प्रदान गरियो। प्राचार्यको डा. समीर बलको बाहुलीबाट मुख्य अतिथि अनित थापा र विशिष्ट अतिथि केशव प्रधानलाई सम्मानसित स्मृतिचिह्न प्रदान गरियो। मुख्य अतिथि अनित थापालाई प्रदान गरिएको प्रशंसापत्रलाई सहायक प्राध्यापिका डा. ताहिरा बट र विशिष्ट अतिथि केशव प्रधानलाई प्रदान गरिएको प्रशंसापत्रलाई सहायक प्राध्यापक डा. गौरवदीप राईले पठन गरेका थिए।


यस कार्यक्रममा खरसाङ महाविद्यालयमा २५ वर्षभन्दा अधिक कार्य गरिसकेका अशिक्षण कर्मचारीहरू नरबहादुर छेत्री, आविद अली, रामाराव, लतिता थापा, सन्तोष सुब्बा, मिङ्मा शेर्पा र निङ्मा शेर्पा पनि खदार्पण र स्म़ृतिचिह्न प्रदान गरी सम्मान जनाइयो । यस कार्यक्रममा डी. बी. छेत्री स्मृति पुरस्कार विद्यार्थी भाष्कर उपाध्यायलाई विगेन्द्रनारायण प्रधानको बाहुलीद्वारा, डी. बी. छेत्री स्मृति पुरस्कार विद्यार्थी प्रजला थापालाई अनोश थापाको बाहुलीबाट, रुकमिणी छेत्री स्मृति पुरस्कार विद्यार्थी प्रियस्का खवासलाई र पी. डी. लामा स्मृति पुरस्कार विद्यार्थी रनेशा सेवालाई सुरेश लामाको बाहुलीबाट प्रदान गरियो । भूतपूर्व विद्यार्थी संघको तर्फबाट अनोश थापा, नरबहादुर छेत्री, सन्तोष सुब्बा र पेम्बा शेर्पालाई सम्मानसहित स्मृतचिह्न प्रदान गरियो। यस कार्यक्रमलाई सार्थक र मनोरञ्जनात्मक बनाउनलाई महाविद्यालयका विभिन्न विभागमा अध्ययनरत विद्यार्थीहरूले नेपाली मारूनी नृत्य, तामाङ नृत्य, दक्षिण भारतीय नृत्य र राजस्थानी नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन प्राध्यापक डा योगेस खातीले राखेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement