नाम्ची: आज बर्फुङ समष्टिका जिल्ला पञ्चायत सदस्यगण र ग्राम पञ्चायतगणलाई नाम्ची जिल्लाअन्तर्गत बर्फुङ समष्टिको राभाङलामा विधायक टीटी भोटियाले अभिनन्दन पत्र प्रदान गरेर सम्मान जनाए।
यस क्रममा सम्बोधन गर्दै विधायक भोटियाले यसरी अभिनन्दन कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य पञ्चायतगणसँग राम्रो तालमेल मिलेको कारण जनताको काम गर्न सहज भएकोले गर्दा रहेको बताए। पञ्चायतगण पनि जनताको प्रतिनिधीगण रहेको र जनताको प्रतिनिधीगणलाई अभिनन्दन गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको उनले उल्लेख गरे। कहिले-काहीँ जनताको काम गर्दा भूल बुझाबुझ भएर कतै मनमा तितो अनुभव भएको छ भने त्यसलाई भुलेर अघि बढ्नुपर्ने उनले बताए।
विधायक भोटियाले दलगत रूपमा पञ्चायत चुनाउ गर्दा धेरै जसो जनतालाई अन्याय भएको कारण पञ्चायत चुनाउ निर्दलीय रूपमा गराउने वर्तमान सिक्किम सरकारले नियम बनाएको बताए। आगामी चुनाउ सकिएपछि यदि वर्तमान पञ्चायतगणहरू पञ्चायत हुन नसके पनि परेको समय हुन सक्ने जति जनताको काम भने गरिदिन उनले अनुरोध गरे।
कार्यक्रममा बर्फुङ-जारूङका पञ्चायत सभापति अनिल राईले पञ्चायतगणलाई सम्झेर यस प्रकारको कार्यक्रम आयोजना गरेकोमा विधायकलाई धन्यवाद दिए। पञ्चायतगणलाई सरकारको सहूलियत वितरण गर्ने दलालको रूपमा नहेरेर पञ्चायतगणका लागि स्वतन्त्र संस्थाको रूपमा काम गर्ने परिवेश सिर्जना गर्नु पर्ने कुरामा उनले जोर दिए। कार्यक्रममा जिल्ला पञ्चायत सदस्य टाँसी डाडूल भोटिया, एसकेएम पार्टीको सीएलसी अध्यक्ष विष्णुप्रसाद शर्मा आदिले पनि सम्बोधन गरेका थिए।
कार्यक्रममा सास्कृतिक नृत्य, गीत आदि पनि प्रस्तुत गरिएको थियो। यस अवसरमा पूर्व विधायक सोनाम ग्याछो भोटिया, महकुमा अधिकारी तृष्ण तामाङ, एसडीपीओ विकास तिवारी, खण्ड विकास अधिकारी उपेन्द्र राई आदिको पनि विशेष उपस्थिति रहेको थियो।