गान्तोक: देशका अन्य प्रान्तमा जस्तै गान्तोकमा पनि हिजो भारतको ७९औं स्वतन्त्रता दिवस विविध देशभक्ति, मनोरञ्जनात्मक अनि खेलकुद कार्यक्रमको साथमा भव्यतापूर्वक पालन गरियो। स्थानीय पाल्जोर स्टेडियममा अपार भिड़को उपस्थितिमा आयोजित यस राज्यस्तरीय कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि रहेका थिए।
कार्यक्रमको सुरुवात मुख्यमन्त्री तामाङद्वारा औपचारिक रुपमा राष्ट्रिय झण्डा फहराएपछि भएको थियो। त्यसपछि मुख्मन्त्रीले स्वतन्त्रता दिवस परेडको निरीक्षण गरे जसमा आईटीबीपी, एसएसबी, एसएपी, दोस्रो आईआरबीएन, तेस्रो आईआरबीएन, सिक्किम पुलिस (पुरुष प्लाटुन), सिक्किम पुलिस (महिला प्लाटुन), सिक्किम वन विभाग, होम गार्ड्स र नागरिक सुरक्षा, एनसीसी साथै विद्यालयहरू टीएन एसएसएस, टाशी नामग्याल एकाडेमी, मोडर्न एसएसएस, पीएनजी एसएसएस, इञ्चे एसएसएस, वेस्ट पोइन्ट एसएसएस, ताडोङ एसएसएस, देउराली गर्ल्स एसएसएस, सिक्किम पुलिस पाइप ब्याण्ड र सिक्किम पुलिस ब्रास ब्याण्डका टोलीहरू समावेश थिए। परेडको नेतृत्व परेड कमान्डरहरू डेपुटी सुपरिन्टेन्डेन्ट अफ पुलिस, सुश्री सोनाम याङ्कीला भुटिया र पुलिस इन्स्पेक्टर राजीव मुखियाले गरेका थिए।
परेड निरीक्षणपछि विभिन्न श्रेणीहरूमा उत्कृष्ट सेवा र प्रदर्शन गर्नेहरूलाई स्टेट मेरियोरियस पुरस्कारहरू प्रदान गरियो। त्यसपछि विभिन्न देशभक्ति धुनहरूको प्रस्तुतिका साथ आकर्षक पाइप ब्याण्ड प्रदर्शनी साथै विद्यार्थीहरूद्वारा सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरियो। यसरी नै एक भारत श्रेष्ठ भारत पहलको एउटा हिस्साको रूपमा उत्तर प्रदेश र मणिपुरका कलाकारहरूले पनि भारतको विविधता र एकताको प्रदर्शन गर्दै आकर्षक सांस्कृतिक प्रस्तुति दिएका थिए। यस अवसरमा ब्ल्याक क्याट डिभिजनको विशेष ब्याण्ड प्रदर्शन पनि समावेश गरिएको थियो। सिक्किम पुलिस (महिला) प्लाटुनलाई डिभिजन ए र वन विभागले डिभिजन बी-मा उत्कृष्ट प्लाटुनको पुरस्कार प्रदान गरियो भने पीएनजी एसएसएसलाई उत्कृष्ट स्कूल टोली पुरस्कार प्रदान गरियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले राष्ट्रका स्वतन्त्रता सेनानीहरूलाई सम्झँदै भारतको स्वतन्त्रताका लागि उनीहरूको अटल साहस र बलिदानको सराहना गरे। उनले सिक्किमको विकास र प्रगतिका लागि प्रधानमन्त्रीले प्रदान गरेको निरन्तर समर्थनप्रति कृतज्ञता पनि व्यक्त गरे। मुख्यमन्त्रीले हर घर तिरङ्गा अभियानको महत्त्वलाई जोर दिँदै राज्य सरकारका आगामी विकास योजनाहरू र केही प्रमुख विकास पहलहरूमाथि पनि प्रकाश पारे।
कार्यक्रमको मुख्य आकर्षण सिक्किम फूटबल एसोसिएशनद्वारा आयोजित स्वतन्त्रता दिवस फूटबल टुर्नामेन्टको फाइनल खेल रहेको थियो। फानल हेर्न पाल्जोर स्टेडियममा अपार भिड़को उपस्थिति रहेको थियो। फाइनलमा सिलगढ़ीको कञ्चनजङ्घा एफसी-लाई शुन्यको विरुद्ध चार गोलले परास्त पार्दै सिक्किम ड्रेगन्स विजयी बन्यो।