सोरेङ: सोरेङ जिल्लाअन्तर्गत थर्पुको लिम्बू सांस्कृतिक भवन परिसरमा दुई दिवसीय श्रीजंगा याक्थुङ साक्थिम फोजुम्बो ४५औं स्थापना दिवस पालन गरिने भएको छ। आगामी २२ र २३ अगस्तमा भव्य कार्यक्रमबीच आयोजना गरिने श्रीजंगा याक्थुङ साक्थिम फोजुम्बोको स्थापना दिवस कार्यक्रमबारे आज लिम्बू साँस्कृतिक भवनमा सभा सम्पन्न भयो। नवनियुक्त राज्य अनुसूचित जनजाति कल्याण बोर्डका अध्यक्ष प्रेमकुमार सुब्बाको अध्यक्षतामा सम्पन्न भएको सभामा सूचना एवं जन सम्पर्क विभागका सल्लाहकार एसबी सुब्बा, सिक्किम रुपान्तरण संस्थानका उपाध्यक्ष सीपी शर्मा, ओएसडीद्वय राजेन बस्नेत र रेमन थापा, मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव उपस्थित थिए। श्रीजंगा याक्युङ साक्थिम फोजुम्बो थर्पुले आफ्नो स्थापना दिवस बडो हर्षोउल्लासको साथमा प्रतिवर्ष मनाउँदै आएको छ। कार्यक्रमको प्रमुख उदेश्य लिम्बू जातिको इतिहास, भाषा, साहित्य, संस्कृति, संस्कार, रीतिरिवाज, पारम्पारिक नाचगान, खानपिन, भेषभूषाको जानकारी पुस्तादर पुस्तालाई गराउँदै लैजानु अनि लिम्बू जातिको बिलुप्त कुरालाई पुण:जीवित गराउनु अनि यी विषयलाई संरक्षण र सम्बर्द्धनको लागि चिन्तन गर्न यो कार्यक्रम आयोजना हुँदै आइरहेको छ। कार्यक्रममा लिम्बू समुदायको मौलिक र लोक सांस्कृतिका नृत्यहरुलाई समावेश गरि फाटिलो बनाइने तयारी भएको छ। 45 वर्ष अघि एउटा सानो कच्चा घर र स्व. मनबहादुर खेवाको नेतृत्वमा केही जागरुक व्यक्तिहरुबाट शुरु भएको श्रीजङ्गा याक्थुङ साक्थिम फोजुम्बो थर्पुले धेरै नै उन्नति र प्रगति गरेको छ। थर्पुमा आयोजित कार्यक्रममा विभिन्न जातगोष्ठिको पारम्पारिक लोक संस्कृतिलाई झल्काउने नृत्यहरुको पनि ठूलो आकारमा प्रतियोगिता राखिन्छ। उक्त रोमाञ्चक कार्यक्रमलाई अवलोकन गर्न राज्यभरिमा मात्र नभएर छिमेकी राज्य र नेपाल राष्ट्रबाट पनि दर्शकहरुको बाक्लो उपस्थिति सधैं रहँदै आएको छ। सभाले २२ अगस्तको दिन लिम्बू जातिको इतिहास, भाषा, साहित्य, संस्कृति, संस्कार, रीतिरिवाज, पारम्पारिक नाचगान, खानपिन, भेषभूषाको जानकारी गराउन जानिफकारहरुलाई भेला गराई स्कूल, कलेज, विश्वविद्यालयमा अध्ययनरत लिम्बू समुदायका विद्यार्थीहरु र लिम्बू युवाहरुको निम्ति कार्यशाला आयोजना गर्ने अनि प्रायः बिलुप्त नृत्य र मुन्धुमहरुको प्रदर्शनी गरि यी कुराको संरक्षण र सम्बर्द्धनको दिशामा कार्य गर्ने निर्णय लिएको छ। यसरी नै २३ अगस्तको दिन सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ उपस्थित रहने बताइएको छ।