मानेबुङ-देन्तामको स्वतन्त्रता दिवस समारोहमा लाभार्थीहरुलाई सहुलियत हस्तान्तरण

IMG-20250816-WA0150

गेजिङ: मानेबुङ-देन्ताम क्षेत्रमा ७९औँ स्वतन्त्रता दिवस उत्साह र देशभक्तिको लहरसितै पालन गरियो। यस अवसरमा सिक्किम सरकारका पर्यटन एवं नागरिक उड्डयन विभागका सल्लाहकार तथा मानेबुङ-देन्ताम क्षेत्रका विधायक सुदेशकुमार सुब्बा मुख्य अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रमको शुरुवात राष्ट्रिय ध्वजारोहण समारोहबाट भयो। त्यसपछिका विभिन्न स्कूलहरू तथा राष्ट्रिय कैडेट कोरका बटायिलनले मार्चपास गरेको थियो। त्यसपछि विभिन्न स्कुलका परेड तथा ब्याण्ड प्रदर्शनीहरूले देन्ताम सार्वजनिक मैदानलाई ताल र देशभक्तिको लयमा गुञ्जायमान बनाएको थियो। स्वतन्त्रता दिवस समारोह समितिका अध्यक्ष दिनेश गुरुङको स्वागत सम्बोधनपछि, सिक्किमका महामहिम राज्यपालको सन्देश देन्ताम महकुमा अधिकारी एनके कार्कीले वाचन गरेका थिए। राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको सन्देश देन्तामका खण्ड बिकास अधिकारी वाङ्दी छिरिङ भोटियाले वाचन गरेका थिए। कार्यक्रममा पीएमश्री सरकारी वरिष्ठ माध्यमिक विद्यालय देन्ताम, देन्ताम टार निम्नमाध्यमिक विद्यालय, माउण्ट कञ्चन एकाडेमी र रोशन मेमोरियल एकाडेमीका विद्यार्थीहरूले प्रस्तुत गरेको पाइप ब्याण्ड प्रदर्शनले सपबैलाई मन्त्रमुग्ध बनाएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि विधायक सुब्बाले सिक्किम राज्यको ५० औँ वर्षगाँठ समारोह मनाइरहेको जानकारी गराए। यसबीच उनले देन्ताम सार्वजनिक मैदानको लामो समयदेखि बाँकी रहेको समस्या समाधान भएको दाबी गर्दै क्षेत्रका विभिन्न पूर्वाधार बिकासको घोषणा गरे। यसै मैदानलाई करिब १०० करोड रुपियाँको लागतमा विश्वस्तरीय खेलकुद कम्प्लेक्सको रुपमा विकास गरिने बताए। सरकारको जनकल्याणप्रतिको प्रतिबद्धता उल्लेख गर्दै उनले हालसम्म क्षेत्रमा १,००० भन्दा बढी आमाहरूले आमा सशक्तिकरण योजनाअन्तर्गत चेक प्राप्त गरिसकेको जानकारी गराए। आगामी महत्वाकांक्षी योजनाहरूको खाका पनि प्रस्तुत गरे। व्यापार तथा पर्यटन प्रवर्द्धनमा चिउवाभञ्ज्याङ सडक सुचारु बनेपछि भारत–नेपाल व्यापार मार्ग स्थापना हुने बताए। जसले मानेबुङ-देन्ताम क्षेत्रमा रोजगारी र अवसरहरू सिर्जना गर्ने जानकारी दिए। पर्यटन आकर्षणमा प्रसिद्ध सिङ्सोर पुललाई रोमाञ्चक स्काइ वक ग्लास ब्रिजमा रूपान्तरणअन्तर्गत पहिलो चरणको निर्माण शुरु भइसकेको जानकारी दिए। स्वास्थ्य सुविधामा देन्ताम प्राथमिक स्वास्थ्य केन्द्रलाई सामुदायिक स्वास्थ्य केन्द्रमा स्तरोन्नति भएको अवगत गराउँदै सांस्कृतिक संरक्षणमा हि-गाउँस्थित लिम्बू सांस्कृतिक तथा पूजा केन्द्रको दोस्रो चरणको कार्य शुरु हुने बताए। यसबीच सरकारका प्रमुख योजनाहरूको प्रत्यक्ष लाभ पनि वितरण गरियो। जसमा ‘आमा सहयोग योजना’ अन्तर्गत दुई आमालाई वर्षमा ४ वटा निःशुल्क एलपीजी सिलिन्डर प्रदान गरियो। त्यस्तै, ‘श्रवण कुमार योजना’ अन्तर्गत आफ्ना वृद्ध आमाबुबाको असाधारण रूपमा हेरचाह गर्ने नौ जनालाई १ लाख रुपियाँको चेक प्रदान गरियो। कार्यक्रममा देन्ताम महकुमाअन्तर्गत विभिन्न विभागमा कार्यरत कर्मचारीहरुलाई पनि सम्मान जनाइएको थियो। आईआरबीएन पिपले र देन्ताम पुलिसबीच भएको रोमाञ्चक फुटबल फाइनलमा देन्ताम पुलिसले जीत हासिल गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement