गान्तोक: आमा सम्मान दिवस र मुख्यमन्त्री प्रेमसिंह तामाङमाथि लगातार भइरहेको आलोचनाविरुद्ध एसकेएम नारी शक्तिले प्रतिक्रिया गरेको चौबिस घण्टा नबित्दै स्वयं सहायता समूहका महिलाहरु पनि अघि आउन थालेका छन्। मुख्यमन्त्री तामाङले १० अगस्तलाई आमा सम्मान दिवसकोरूपमा घोषणा गरेकोमा खुशी जाहेर गर्दै विभिन्न एसएचजीहरु मुख्यमुन्त्रीको बचावमा ओर्लिएका छन्। आज पाँच माइलस्थित एक होटलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै विध्या विश्वकर्माले राज्य सरकारले आमाहरूको त्याग ल बलिदानको सम्मान गर्दै प्रत्येक वर्षको १० अगस्तमा आमा सम्मान दिवस पालन गर्ने घोषणा गरेको बताइन्। राज्यका पाँच हजारभन्दा अधिक सेल्फ हेल्प ग्रूपको तर्फबाट राज्य सरकार साथै मुख्यमन्त्री तामाङलाई धन्यवाद दिइन्। यस्तो कार्यक्रमले राज्यका सम्पूर्ण आमाहरूलाई खुशी बनाएको उल्लेख गर्दै तर राज्यका केही विपक्षी राजनीतिक दलहरूले यसको विरोध गरिरहेको विषयमा आपत्ति जनाइन्। वर्तमान सरकारले नारीहरूलाई प्राथमिकता दिँदै उच्च ओहोदासम्म नियुक्त गरेकोमा खुशी प्रकट गर्दै मुख्यमन्त्री तामाङ आमाहरूको निम्ति ब्याक बोन रहेको बताइन्। पूर्व सरकारले नारीहरूलाई सम्मान गर्न नसको आरोप लगाउँदै विपक्षीहरूले जति नै आरोप लगाए तापनि एसकेएम सरकारको विचार र सिद्धान्त कहिले पनि नडगमगाउने दावी गरिन्। आमाहरुको सम्मानमा विपक्षी दलका केही आमाहरूले नै यसको विरोध गरिरहेकोमा उनले आश्चर्य प्रकट गरिन्। यसक्रममा अध्यक्ष छुमिला भोटियाले पत्रकारहरूलाई सम्बोधन गर्दै विपक्षी दलले सदैव सत्तारूढ पार्टी साथै सरकारमा महिलाहरूको सहभागितामा कमी रहेको आरोपको पनि खण्डन गरिन्। उनले विपक्षी दलले लगाएको सबै आरोपहरू असत्य रहेको बताउँदै पर्दापछि सरकार साथै पार्टीमा योगदान पुऱ्याउन महिलाहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरिन्। भोटियाले विपक्षी दलहरूलाई चेतावनी दिँदै व्यक्तिगतरूपमा कसैको पनि चरित्र हनन नगर्ने बताइन्। यदि विपक्षी दलहरूले व्यक्तिगतरूपमा आक्रमण गरेको खण्डमा राज्यका ६३ हजार एसएचजी सदस्यहरूसहित राज्यका सम्पूर्ण आमाहरू कार्वाहीको निम्ति अघि आउने खबरदारी गराइन्।