गान्तोक: भर्खरै सिटिजन एक्शन पार्टी, सिक्किम (क्याप सिक्किम) त्यागेका बिजाल राई, युवराज दाहाल र नरेन्द्र अधिकारी सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चामा सामेल भएका छन्। आज बिहान सरकारी आवास मिन्तोकगाङमा मुख्यमन्त्री तथा सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष प्रेमसिंह तामाङलाई भेटेर उनीहरू औपचारिक रुपमा एसकेएम पार्टीमा सामेल भएका हुन्। मुख्यमन्त्रीले उनीहरूलाई आधिकारिक रुपमा पार्टीमा स्वागत जनाए। यसको जानकारी स्वंय मुख्यमन्त्रीले सामाजिक सञ्जालमा पोस्ट हालेर दिएका छन्।

ज्ञात रहोस, सिटिजन एक्शन पार्टी, सिक्किममा विभिन्न शीर्ष पदमा रहेका बिजाल राई, युवराज दाहाल र नरेन्द्र अधिकारीले हालै पार्टीबाट विभिन्न कारण देखाउँदै राजीनामा दिएका हुन्। राजीनामा दिएको एक महिना पनि नबित्दै उनीहरूले सत्तारुढ़ पार्टीको झण्डा समातेका हुन्। एसकेएम पार्टीमा सामेल भएपछि पत्रकारहरूसित कुराकानी गर्दै नरेन्द्र अधिकारीले एसकेएम पार्टीको समावेशी नीति र मुख्यमन्त्री तामाङको सरल व्यक्तित्वले प्रभावित बनाएको बताए।
एसकेएमको सामेल हुने उनीहरूको निर्णय एउटा राजनीतिक कदम मात्र नभएर एसकेएम सरकारको प्रगतिशील, समावेशी र युवा-सञ्चालित नीतिमाथि उनीहरूको विश्वास रहेको मुख्यमन्त्रीले समाजिक सञ्जालमा भनेका छन्। उनले भनेका छन्, आजको समयमा राज्यको भविष्यलाई आकार दिन युवाहरूको भूमिका पहिलेभन्दा बढी महत्त्वपूर्ण छ। उनीहरूको साहस, स्पष्टता र जनता-केन्द्रित शासनप्रतिको प्रतिबद्धताले हाम्रो पार्टीको परिवर्तनकारी भावनालाई मूर्त रूप दिएको छ।
नयाँ सदस्यहरूको योगदानले एसकेएम पार्टीको सङ्कल्पलाई थप बल पुऱ्याउने मुख्यमन्त्री तामाङले आशा व्यक्त गरेका छन्। युवा शक्तिलाई अग्रपंक्तिमा राखेर हामी परिवर्तनलाई अगाडि बढाउनेछौं। तल्लो तहको लोकतन्त्रको मूल्य र मान्यतालाई कायम राख्न र प्रत्येक सिक्किमे नागरिकको कल्याणको लागि अथक प्रयास गर्न जारी राख्नेछौं, उनले थप भनेका छन्।