खरसाङ: खरसाङको सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालयमा दार्जिलिङ जिल्ला स्तरीय १२औं कन्याश्री दिवस समारोह सम्पन्न भएको छ। उक्त कन्याश्री दिवस समारोह दार्जिलिङ जिल्ला प्रशासन र खरसाङ महकुमाको संयुक्त आयोजनामा सम्पन्न भएको छ। प्रत्येक वर्ष १४ अगस्तमा पश्चिम बंगालमा राज्यमा कन्याश्री दिवस पालन गरिन्दै आइरहेको छ भने यसपाली राज्यभरि १२औं कन्याश्री दिवस समारोह सम्पन्न भएको छ। यसै क्रममा आज खरसाङमा दार्जिलिङ जिल्ला स्तरीय कन्याश्री दिवस समारोह सम्पन्न भएको छ।

यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा उपस्थित रहेका थिए। कार्यक्रममा स्वागत सम्भाषण महकुमा सूचना अनि सांस्कृतिक विभागको अधिकारी अनिर्बन दामले राखेका थिए। कार्यक्रममा विभिन्न विद्यालयहरुका नानीहरुले विभिन्न कार्यक्रमहरु प्रस्तुत गरेका थिए। यसै कार्यक्रममा विभिन्न विद्यालयहरु र कलेजहरुमा राज्य सरकारको कन्याश्री योजनालाई सठीक रुपमा कार्यन्वयन गरेको आधारमा पुरस्कृत गरिएको छ। यस क्रममा विद्यालय स्तरमा पहिलो पुरस्कार होली क्रस सोनादा, दोस्रो रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालय त तेस्रो पंखाबारी उच्चतर माध्यमिक विद्यालयले प्राप्त गरेको छ। त्यसरी नै कलेज स्तरमा प्रथम पुरस्कार पोलिटेकनिक कलेज दार्जिलिङ खरसाङ, दोस्रो खरसाङ कलेज र तेस्रो सन्त जोसेफ कलेज दार्जिलिङलाई प्राप्त भएको छ। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले आफ्नो सम्बोधनमा राज्य सरकारको तर्फबाट कन्या विद्यार्थीहरुका सर्वाङ्गीण विकासमा सहयोग गर्नलाई शुरु एकदम ठूलो योजना रहेको र यस योजनाले कन्या विद्यार्थीहरुलाई ठूलो सहयोग भईरहेको बताएका छन्।

कार्यक्रममा धन्यवाद ज्ञापन खरसाङ महकुमा शासक आईएएस बिन्दबासिनी तेजा दिपकले राखेका थिए। कार्यक्रममा दार्जिलिङ जिल्ला पुलिस अधीक्षक प्रवीण प्रकाश, सभासदहरु श्याम शेर्पा, कल्पना प्रधान, खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, खरसाङ पञ्चायत समितिको सभापति अनु छेत्री लगायत अन्यहरु उपस्थित रहेका थिए।