गान्तोक: एक राष्ट्रीय समाचार च्यानलको आयोजनमा आज राजधानीस्थित राजभवनमा डायमण्ड स्टेटस समिट-को दोस्रो सिजन सम्पन्न गरियो। कार्यक्रममा राज्यपाल ओमप्रकाश माथुर मुख्य अतिथिकारूपमा उपस्थित रहेका थिए। मुख्यमन्त्री प्रेमसिंह तामाङलगायत अन्य अधिकारीहरु विशिष्ट अतिथिकारुपमा उपस्थित थिए। यस अवसरमा सिक्किमको सम्भावित विकास मुद्दाहरूबारेमा सोधिएको प्रश्नको जवाफ दिँदै राज्यपालले आफ्नो एक वर्षको कार्यकालको अनुभव बताए। राज्यपालले प्रधानमन्त्री नरेन्द्र मोदीको पूर्वोत्तर क्षेत्र विकास नीतिले उत्तरपूर्वी भारत मात्र नभई देशको विकासतर्फ पनि अग्रसरता देखाएको जानकारी गराए। राज्यपालले सिक्किमलाई असिमित सम्भावनाहरूको राज्य बताउँदै यहाँका स्थानीय उत्पादनहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा बजारीकरण गर्न सक्षम रहेको अवगत गराए। उनले राज्यका जनताको प्रशंसा गर्दै यहाँका जनता अत्यधिक अनुशासित हुनको साथै सिक्किममा आउने अतिथिहरूका लागि स्वागत गर्न आतुर रहने बताए। पर्यावरणप्रति सिक्किमले गरेको कार्य अन्य देशवासीहरूका लागि प्रेरणादायी रहेको जानकारी गराए। प्रधानमन्त्री मोदीको जीवन्त गाउँको दृष्टिकोण अन्तर्गत देशको अन्तिम गाउँलाई पहिलो गाउँ मान्ने पहल गरिएको उल्लेख गर्दै सीमावर्ती क्षेत्रहरूलाई नयाँ दिशा दिएको बताए। राज्यपालले सिक्किमका जनताको जीवनशैलाको कदर गर्दै सीमित स्रोतसाधनको बीच पनि यहाँका मानिसहरू सहजताका साथ बाँचिरहेको बताए। उनले देशको सिमानामा कठिन परिस्थितिमा सेवा गर्ने सैनिकहरूको अटुट समर्पणलाई पनि सम्मानपूर्वक सम्झना गरे। कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा सरकारको दृष्टिकोण बताए।