गेजिङ: गत राति परेको अविरल वर्षाले पश्चिम सिक्किमको गेरेथाङ–टासीडिङअन्तर्गत रिधाङ क्षेत्रमा यातायात दिनभरिनै ठप्प रह्यो। सिक्किकम सरकारको सड़क एवं पुल विभागको प्रयासमा बेलुकी पख सड़क पुनर्बहाली गरे तापनि मुसुलधारे वर्षापछि आएको पैह्रोले सडकलाई अझ धेरै नोक्सान बनाएको छ। भीषण पानी र बहावका कारण सडकमा अवरोध पुगेको छ। सम्बन्धित विभागले आज दिनभरिनै सडक खुलाउने प्रयास गरे तापनि अस्थायी रूपमा खोलिएको सड़क केही समयपछि पुनः पैह्रोग्रस्त भएको छ। रातभरि लगातार वर्षाको कारण माटो र ढुङ्गाहरू सडकमा थुप्रिँदा यातायात सञ्चालन असम्भव बनेको हो। सड़क अवरोधका कारण योक्सोम, गेरेथाङ र वरपरका क्षेत्रमा चल्ने वाहनहरु पूर्णरूपमा ठप्प भएका छन्। जसले गर्दै दैनिक रुपमा ओहोरदोहोर गर्ने स्थानीय बासिन्दा र यात्रुहरूलाई ठूलो असुविधा भएको छ। सडक पैह्रो संवेदनशील क्षेत्रभित्र रहेकोले बारम्बार सड़क क्षतिग्रस्त भएको हो। स्थानीय बासिन्दाहरूले भनेअनुसार गत केही वर्षयता वर्षायाममा उक्त क्षेत्रलाई बारम्बार यस्तै समस्याले सताइरहेको छ। सरकारले दीर्घकालीन र वैकल्पिक समाधानका लागि ठोस योजना शुरु गर्नेपर्ने बताएका छन्। हाल सम्बन्धित विभागका प्राविधिक टोली सडक सफाई गर्न निरन्तर खटिइरहेको छ भने यसरी लगातार वर्षा भइरहेको खण्डमा यातायात पूर्ण रूपमा ठप्प हुने बताएको छ। प्रशासनले यात्रुहरूलाई आवश्यक नपरे जोखिमपूर्ण यात्रामा ननिस्कने आग्रह गरेको छ।