५-६ घरहरुलाई खतरा उत्पन्न
तीनधारे: लगातार परिरहेको पानी झरीले गर्दा तीनधारेको अप्पर गोलाईमा पैह्रो गएर ५-६ वटा घरहरुलाई खतरा उत्पन्न भएको छ। आज बिहान तीनधारेको अप्पर गोलाईमा गएको पैह्रोले स्थानीय अमर थापाको घर पैह्रोको चपेटमा परेको छ। माथिबाट आएको पैह्रोको कारणले अमर थापाको काठको घर सरेर गएकोले निक्कै खतरा उत्पन्न भएको छ। उक्त पैह्रोले अप्पर गोलाईको ५-६ वटा घरहरुलाई पनि खतरा उत्पन्न भएको छ। उक्त पैह्रो प्रभावित घरहरुको निरीक्षण गर्नलाई तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, घैयाबारी ग्राम पञ्चायत दुईको उप प्रधान रञ्जित थापा, पञ्चायत सदस्यहरु अजय विश्वकर्म, दावा दोर्जे लामा र सुष्मिता गजमेर साथै पञ्चायत सचिव रबीन मोक्तान, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे खण्ड समितिको सचिव अनिल राई, भीसीडी लगायत अन्यहरु उपस्थित रहेका थिए।

उक्त पैह्रोले अमर थापाको घरलाई खतरा उत्पन्न भएपछि निरीक्षणमा आएका सभासद लगायतका टोलीले अमर थापाको परिवारलाई अन्यत्र सार्ने काम गरिएको जानकारी प्राप्त भएको छ। यसको साथै पञ्चायतको तर्फबाट पोलिथिन लगाएर पैह्रो छोप्ने कार्य गरिएको जानकारी प्राप्त भएको छ।