दार्जिलिङ: जीटीएले ब्याडमिन्टन टुर्नामेन्टको स्पोन्सर गर्ने साथै ब्याडमिन्टन खेल्ने हलको निर्माण पनि गर्नेछ भनी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले बताएका छन्। उनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भने, यङ्ग सटलर्स दार्जीलिङले स्थानीय नानीहरूलाई लिएर ब्याडमिन्टन कोचिङ क्याम्प चलाउँदैछ। हल किरायामा लिएर यो क्याम्प चलिरहेको थाहा पाएँ। धेरै दिनहरूदेखि उहाँहरूले मलाई क्याम्पमा आईदिनु होस भनेर निमन्त्रणा दिनु भएको थियो। आज क्याम्पमा पुगे। साधारण टुर्नामेन्ट चल्दै थियो। हल प्रशिक्षार्थी अनि अभिभावकहरूले भरिएको थियो। खेल्ने नानीहरू हुनु साधारण कुरा हो तर आमा बाबालाई नानीहरुलाई प्रोत्साहन दिँदै कराएको आज देखे। मनमनै सोचेँ आजको अभिभावक आफ्नो नानीको सर्वाङ्गीण विकास खोज्दो रहेछ। दार्जीलिङमा खेलकूद भन्ने बित्तिकै फुटबल मात्र आँखामा आउने गर्थ्यो। अब खेलकुदको विकल्पहरू थुप्रै निस्केको छ। ती विकल्पहरू मध्ये ब्याडमिन्टन पनि एउटा रहेको छ।’

अनित थापाले भने, टुर्नामेन्टपछि मैले उपस्थित झुण्डलाई सम्बोधन गर्दै भने कि हाम्रो समयको खेली हिड्ने संस्कार आजको नानीहरूको जीवनमा पाउँदैनौं। आजको दिनमा बाहिरको दूर्षित वातावरणदेखि बचाउनु अभिभावकलाई गार्हो छ। यङ्ग सटलर्स दार्जीलिङले नानीहरू अनि अभिभावकहरूलाई एउटा राम्राे स्पेस तयार गरिदिएको छ जहाँ नानीहरुले पनि खेल्नु सक्छ, हल्ला गर्नु सक्छ, कुद्नु सक्छ। अर्थात् नानीहरुले नानी जस्तै भएर समय बिताउनु सक्छ।’

उनले अघि भने, सटलर्स दार्जीलिङका सदस्यहरूलाई बधाई। राम्रो काम गर्नु भएको छ। नानीहरूलाई खेलप्रति प्रोत्साहन गर्न भाइहरूले निःशुल्क केही दिनुभएको छैन। यहाँ नानीहरुले ब्याडमिन्टन शुल्क तिरेर सिक्नु पर्छ। कोचिङको निम्ति उहाँहरूले हल किरायामा लिएका छन्।’

थापाले अझ भने, मैले वचन दिएको छु कि म दार्जीलिङमा एउटा राम्रो ब्याडमिन्टन खेल्ने हल निर्माण गरेर यहाँहरुकै देखरेखमा दिनेछु। आफ्नै हलमा कम्ती पैसामा धेरै नानीहरुले खेल्नु पाउनेछन्। दोस्रो महत्वपूर्ण कुरा चाहिँ के हो भने उहाँहरुले जीटीए स्तरमा ब्याडमिन्टन टुर्नामेन्ट आयोजना गर्नु हुने थाहा पाए। त्यस टुर्नामेन्टलाई सम्पूर्ण रूपले जीटीएले स्पोन्सर गर्नेछ।’
उनले भने, ‘राम्रो काम भईरहेको छ। अभिभावकहरुले पनि सहयोग गरिरहनु भएको रहेछ। यो सराहनीय कुरा हो। हामीले राम्रो काम गर्दै जानुपर्छ। नानीहरुले पढ्नु सक्छ, खेल्नु सक्छ। तर विगतमा त्यसको निम्ति सही परिवेश थिएन। अहिले म नानीहरुले पढ्नु पाउनु पर्छ, खेल्नु पाउँनु पर्छ भन्ने सोच राखेर अनुकूल परिवेश बनाउने कार्यमा लागेको छु। अरूको बहकाउमा आएर पहाडमा अशान्ति सृजना गर्नु हुँदैन। हामीलाई नै नोक्सान हुन्छ।’