पाकिस्तान केवल ९२ रनमा अलआउट, वनडे सीरीज वेष्ट इण्डिजको झोलीमा

IMG-20250813-WA0067

तारौबा (त्रिनिदाद): वेष्ट इण्डिजले त्रिनिदादको ब्रायन लारा स्टेडियममा खेलिएको तेस्रो तथा निर्णायक वनडे इण्टरनेशनल क्रिकेट म्याचमा पाकिस्तानलाई २०२ रनको ठूलो अन्तरले पराजित गऱ्यो। यसको साथै आयोजक वेष्ट इण्डिजले ३ वटा वनडे म्याचको सीरीज पनि २-१-ले जित्यो। यो वेष्ट इण्डिजको पाकिस्तानविरुद्ध गत ३४ सालमा पहिलो वनडे सीरीज जीत हो। वेष्ट इण्डिजको यस जीतमा कप्तान शाई होप (अविजित १२० रन)-को शतक र पेस बलर जेडन सील्सको घातक बलिंग (६ विकेट)-को महत्त्वपूर्ण भूमिका रह्यो। यस जीतको साथ वेष्ट इण्डिजले पाकिस्तानविरुद्ध टी२० सीरीजमा प्राप्त भएको हारको हिसाब पनि चुक्ता गऱ्यो। शतकीय ईनिंग्सको निम्ति होपले प्लेयर अव् द म्याचको पुरस्कार जिते। यसरी ३ वटा म्याचमा १० विकेट लिने सील्सले प्लेयर अव् द सीरीजको पुरस्कार जिते। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै वेष्ट इण्डिजले ५० ओभरमा ६ विकेट गुमाएर २९४ रन बनायो। त्यसपछि पाकिस्तानी टीम २९.२ ओभरमै केवल ९२ रन बनाएर अलआउट भयो।
म्याचमा पहिला ब्याटिंग गर्दै वेष्ट इण्डिजको शुरुवात खराब रह्यो अनि ओपनर ब्रेण्डन किंग केवल ५ रन बनाएर आउट भए। त्यसपछि एविन लुईस र केसी कार्टीले दोस्रो विकेटको निम्ति ४७ रन जोड़ेर स्कोर ५७ रनसम्म पुऱ्याए। लुईसले ३ वटा छक्का र एउटा चौकाको साथ ३७ र कार्टीले १७ रन बनाए। कार्टी आउट भएपछि चाहिँ होपले जिम्मेवारीको साथ खेल्दै स्कोरलाई अघि बढ़ाए। उनले शेरफेन रदरफोर्ड (१५ रन)-सँग चौथो विकेटको निम्ति ४५ र रोस्टन चेस (३६ रन)-सँग पाँचौं विकेटको निम्ति ६४ रनको पार्टनरशीप गरे। चेसले २९ बल खेलेर २ वटा छक्का र ३ वटा चौका लगाए। अन्तिम ओभरहरूमा होपले जस्टिन ग्रीव्ससँग सातौं विकेटको निम्ति ११० रनको अटूट पार्टनरशीप गरी टीमलाई मजबूत स्कोरसम्म पुऱ्याए। होपले ९४ बलमा १० वटा चौका र ५ वटा छक्काको साथ अविजित १२० रन बनाए। यसरी ग्रीव्सले ४ वटा चौका र २ वटा छक्काको साथ २४ बलमा अविजित ४३ रन बनाए। पाकिस्तानका बलरहरूमा नसीम शाह र अबरार अहमदले २-२ विकेट लिए।
पाकिस्तानको टीम चुनौतीपूर्ण लक्ष्यलाई पीछा गर्दै शुरुमै पछाड़ियो। पाकिस्तानको शीर्ष ४ जना ब्याटरहरूमा ३ जनाले त खाता पनि खोलेनन् जबकि बाबर आजमले ९ रन बनाए। सील्सले शुरुवाती ४ विकेट हासिल गरी पाकिस्तानलाई झट्का दिए। अब्दुल्ला शफीक, सईम अयूब र कप्तान मोहम्मद रिजवान खाता नखोली आउट भए। खराब शुरुवातपछि सलमान आगा र मोहम्मद नवाजले प्रयास गरे पनि लगातार विकेटको पतनले गर्दा वेष्ट इण्डिजले सजिलै म्याच जित्यो। सलमान आगाले ३० र नवाजले अविजित २३ रन बनाए। पाकिस्तानको ईनिंग्समा ५ जनाले त खाता पनि खोलेनन्। वेष्ट इण्डिजका बलरहरूमा सील्सले ७.२ ओभरमा केवल १८ रन खर्च गरी ६ विकेट लिए। यसरी स्पिनर गुडाकेश मोतीलाई २ विकेट प्राप्त भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement