सिक्किमले देशभक्ति र राष्ट्रिय एकतामा नमूना प्रस्तुत गरेको छः मुख्यमन्त्री तामाङ
गान्तोक: हर घर तिरङगा यात्रा अभियानअन्तर्गत आज राजधानीको एमजी मार्गबाट एक भव्य ऱ्याली आयोजन गरियो। एमजी मार्गबाट शुरु भएको उक्त ऱ्याली मनन केन्द्रमा पुगेर समापन भयो। ऱ्यालीमा राज्यपाल ओमप्रकाश माथुर, मुख्यमन्त्री प्रेमसिंह तामाङलगायत मन्त्रीगण, विधायकगण,विभिन्न विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। यसक्रममा मनन केन्द्रमा एक भव्य कार्यक्रम आयोजन गरिएको थियो। जसमा मुख्यमन्त्री तामाङ मुख्य अतिथिकारूपमा उपस्थित रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले देशको राष्ट्रिय झण्डा स्वतन्त्रता, एकता र राष्ट्रिय पहिचानको प्रतीक हो भन्दै झण्डाको केशरी रङले बहादुरी र बलिदानको प्रतीकात्मकता देखाउने बताए। यसरी नै सेतो रङले सत्य र शान्तिको प्रतिनिधित्व गर्ने अनि हरियो रङले प्रगति र समृद्धिको प्रतिकका रुपमा सन्देश दिने बताए। झण्डाको बीचमा रहेको अशोक चक्रले देशबासीलाई न्याय र धर्मको पथप्रति प्रतिबद्धताको स्मरण गराउने उल्लेख मुख्यमन्त्रीले सम्बोधनमा गरे। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा शुरु गरिएको हर घर तिरङगा अभियानको गहिरो उद्देश्य देशका नागरिकहरूमा देशप्रेमको भावनालाई सशक्त बनाउने बताए। मुख्यमन्त्रीले प्रधानमन्त्री मोदीद्वारा शुरु गरिएको स्वच्छ भारत अभियान, आत्मनिर्भर अभियान, डिजिटल इण्डिया, हर घर जल, लोकल फर भोकल र प्रधानमन्त्री आवास योजना लगायतका विविध जनकल्याण कार्यक्रमहरूले देशका हरेक कुनामा विकासको प्रवाह फैलाएको जिकिर गरे। सिक्किमेली जनताले हर घर तिरङगा अभियानलाई एक भव्य चाडकारूपमा मनाइरहेको र आ-आफ्नो घरमा राष्ट्रिय झण्डा फहराएर देशभक्तिको उदाहरण पेश गरिरहेको उल्लेख गरे। मुख्यमन्त्रीले प्रसङ्ग फेर्दै पर्यावरण संरक्षणमा शुरु गरेको विभिन्न सरकारी कार्यनीतिको पनि जिकिर गरे। यसबारे बोल्दै तामाङले मेरो रुख, मेरो सन्तति, शिशु समृद्धि योजना, मेरो बाटो, मेरो बोट, धरती माता को लागि एक दिन लगायत प्रधानमन्त्रीद्वारा शुरु गरेको एक पेड़ माँ के नाम-लाई सिक्किमले प्रभावीरुपमा कार्यन्वयन गरेको जानकारी गराए। मुख्यमन्त्री तामाङले दाबी गरेअनुसार पर्यावरणका लागि सञ्चालित उक्त अभियानहरूले विश्वस्तरमा पर्यावरण संरक्षणतिर प्रेरणादायी पदक्षेपको रुपमा काम गरेको छ। अर्कोतिर उनले सिक्किम भारतको एक अभिन्न अङ्ग बनेको ५०औं वर्ष पुग्दा राज्यका जनतामा देखिने देशप्रेम र राष्ट्रिय भावनाले अलगै उदाहरण दिएको सम्धनमा थपे।