खरसाङ: साहित्यकार, पूर्व शिक्षिका एवम् समाजसेवी उर्मिला घिसिङको निधनमा सुकनामा शोकको लहर छाएको छ। उनको निधनमा सुकना साहित्यिक सांस्कृतिक संस्थानले सुकना खण्ड दुईस्थित सार्वजनिक भवनमा एक शोकसभाको आयोजना गरेको थियो। स्वर्गीय घिसिङको प्रतिकृति अघि दीप प्रज्वलन एवम् पुष्पार्पन भई सम्पन्न भएको उक्त शोकसभामा उनको आत्मा शान्तिको लागि दुई मिनटको मौन धारण गर्दै शिक्षा, साहित्य एवम् समाजको क्षेत्रमा उर्मिला घिसिङले दिएको योगदानको स्मरण गरेका थिए। सन् १९६० को दशकदेखि नै विभिन्न पत्र-पत्रिकाहरूमा आफ्ना कविता, कथा, लेख आदि प्रकाशित गर्दै आइरहेकी उर्मिला घिसिङको “उच्वास” (कविता सङ्ग्रह), “मृग तृष्णा” (नाटक), “घाम डुब्न लाग्दा” (कविता सङ्ग्रह), “केही अभिव्यक्ति” (समीक्षा सङ्ग्रह),”बिम्ब दृष्टि” (बिम्ब कविता सङ्ग्रह )आदि प्रकाशित भएका छन्। उनका पति सरमान राई र उर्मिला घिसिङ दुवैले मिलेर आफ्नै खर्चमा उसमा प्रकाशन जस्ता प्रकाशन संस्था खोलेर केही पुस्तकहरूको प्रकाशनसँगै विभिन्न साहित्यिक कार्यक्रमहरू आयोजना गर्दै मेधावी विद्यार्थीलाई सम्बर्द्धना, साहित्यिक महारथीहरूलाई सम्मान गर्ने काम गर्दै आईरहेका थिए। जीवनको अन्तिम समयसम्म पनि कलम नै चलाइरहेकी साहित्यकार घिसिङका अझ केही कृतिहरु प्रकाशोन्मुख रहेको र उक्त कृतिहरूलाई भविष्यमा प्रकाशित गरिने सरमान राईले जानकारी दिएका छन्। गत वर्ष उर्मिला घिसिङ अभिनन्दन ग्रन्थ पनि प्रकाशित भएको थियो। शोक सभामा संस्थानका पदाधिकारीहरू सूर्यमणि शर्मा, मीरा राई, खग गुरागाई ,शर्मिला रसाइली, नवराज छेत्री, कृष्ण छेत्री, सुनिल प्रधान, राजा पुनियानी, सागर शर्मा, मेघनाथ छेत्री आदिले उर्मिला घिसिङको साहित्यिक, सामाजिक,शैक्षिक योगदानहरूको स्मरण एवम् मूल्याङ्कन गरेका थिए।