खरसाङ: हिज जीटीए सभामा गोर्खाल्याण्डको प्रस्ताव पारित गरिएकोमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिले स्वागत जनाएका छन्। आज भागोप्रमो खरसाङ महकुमा समितिको एक सभा खरसाङस्थित पार्टी कार्यालयमा सम्पन्न भएको थियो। उक्त सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिको पदाधिकारीहरू उपस्थित भएर हिज जीटीए सभामा पारित प्रस्तावहरू सबै जनताको हितको लागि रहेको र सबै प्रस्तावहरूले जनहितको लागि कार्य गर्ने बताउँदै समर्थन र स्वागत जनाएका छन्। भागोप्रमो खरसाङ महकुमा समितिले जीटीए सभामा जनताको पक्षमा पारित विभिन्न प्रस्तावहरूलाई स्वागत र समर्थन रहेको साथै सभामा गोर्खाल्याण्डको प्रस्ताव पारित गरेकोमा खरसाङ महकुमा समितिको तर्फबाट खुशी व्यक्त गर्दै धन्यवाद दिइएको छ। सभामा भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधान, महासचिव प्रणाम रसाईली लगायत अन्य पदाधिकारीहरू उपस्थित रहेका थिए।

सभापछि पत्रकार सम्मेलन बोलाएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानले जीटीए सभामा गोर्खाल्याण्डको प्रस्ताव पारित गरेकोमा स्वागत जनाउँदै पूर्ण समर्थन रहेको अनि यसको लागि सबै सभासदहरू र जीटीए चिफ् एक्जीक्युटिभ अनित थापालाई अग्रिम शुभकामना दिएका छन्। यसको साथै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको नेताहरूले गोर्खाल्याण्ड बेची खायो भनेर आरोप लगाउनेहरूलाई विरोधी ठूलो उत्तर रहेको बताएका छन्। उनले अघि भने, जीटीएमा गोर्खाल्याण्डको प्रस्ताव पारित गरेर भागोप्रमोको नेताहरूले गोर्खाल्याण्ड बेचि खायो भनेर सामाजिक सञ्जालतिर कलंकित गर्न खोजेको थियो तर हिज जीटीए सभामा गोर्खाल्याण्डको प्रस्ताव पारित गरेर ती आरोप लगाउनेहरूको च्याप्टर क्लोस भएको छ। महकुमा समितिको सभापति सुवास प्रधानले अझ भने, हिज सम्पन्न जीटीएको सभामा विपक्षीका सभासदहरूलाई पनि साथमा लिएर सभा गरी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभासदहरूले ठूलो ह्रदय भएको प्रमाण दिएको छ। यसले गर्दा पुरानो प्रथा बन्द भएको अनि विपक्षका नेताहरूले पनि खुलेर बोल्न सक्ने माहोल सिर्जना भएको छ। यस कुरामा पार्टी अध्यक्ष एंव जीटीए चिफ् एक्जीक्युटिभ अनित थापा समक्ष भएका छन्। प्रधानले भने, ‘जीटीए सभामा पूर्ण बहुमतले पारित भएपछि बाहिर आएर पत्रकार सम्मेलन बोलाएर यो भएन, त्यो भएन भनेर भन्नु लज्जास्पद कुरा हो। यसले गर्दा नेतामा हुनु पर्ने गुण नभएको जस्तो बुझियो र हिसाब किताबमा पनि फेल भएको देखियो कारण जीटीएको सभासदहरूले हिसाब किताब गरेर नै जीटीए चेयरम्यान रिलिफ फण्ड चियाबारी श्रमिकहरूको हितमा श्रमिक भवन बनाउने निर्णय गरिएको छ जुन सही हो र यसलाई हामी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिद्वारा पूर्ण रूपमा समर्थन गर्छौं। यो विषयमा विपक्षका नेताहरूले श्रमिकहरूलाई केवल एक हजार मात्र सम्झेको रैछ अनि विपक्षीका नेताहरूले यस कुरालाई राजनीतिकरण गरिरहेका छन्। यसमा नेताहरूमा ईगो पनि देखिएको छ।’ महकुमा समितिको सभापति सुवास प्रधानले पहाड़को हित र पहाड़को विकासको लागि सबै लागि पर्ने आह्वान् गर्दै जीटीएको ४५ वटै समष्टिहरूमा विकासको कार्य गरिदिने निवेदन पनि गरेका छन्।









