रंगबुल जुनियर बेसिक स्कूल बने विजेता
सोनादा: सोनादा स्कट्स मिशन जुनियर बेसिक स्कूलको आयोजनामा तेस्रो जीबी थापा स्मृति अन्तर प्राथमिक पाठशाला क्विज प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। सोनादा न्यू लाइट क्लबमा आयोजना गरिएको उक्त कार्यक्रममा सोनादा डिग्री कलेजका प्रा मेघनाथ छेत्री प्रमुख अतिथिका रुपमा उपस्थित थिए भने विशिष्ट अतिथिका रुपमा सोनादा पचेङ समष्टिका सभासद अनोसकुमार थापा उपस्थित थिए। अन्य अतिथिहरूमा पाठशालाका एआइ अनि एसआइ क्रमैले प्रदिप सुब्बा तथा आनन्द शर्मा, वीणा थापा, कर्माध्यक्ष बबेन्द्र राई, अरुणा राई, निम्न सोनादा ग्राम पञ्चायत प्रधान बैजन्ती तामाङ, उप प्रधान थिलेन लामाको उपस्थिति रहेको थियो। सोनादा क्षेत्रबाट एघारवटा विद्यालयहरुले प्रतियोगितामा अंश ग्रहण गरेका थिए जबकि रंगबुल जुनियर बेसिक स्कूललाई ३१० अङ्कको साथमा विजेता अनि लीलावती प्राथमिक पाठशालालाई ३०० अङ्कको साथमा उप विजेता घोषित गरियो। स्मरण गराइन्छ सोनादा स्कट्स मिशन स्कूलले अहिलेसम्म पाठशालाभित्रै विभिन्न प्रतियोगिताहरू आयोजना गर्दै आइरहेको छ।

तर यसवर्ष सोनादा क्षेत्रका अन्य विद्यालयहरुलाई पनि समेटेर यस क्षेत्रका विद्यार्थीहरुलाई मञ्च प्रदान गर्नु नै प्रतियोगिताको मुख्य उद्देश्य रहेको जानकारी विद्यालयका प्रधानाध्यापक मेघेन्द्रमणि थापाले दिएका छन्। उनले यो कार्यक्रममा विद्यार्थीहरुको उत्कृष्ट प्रदर्शन रहेको साथै कार्यक्रम सफल भएको बताएका छन्।कार्यक्रममा विभिन्न विद्यालय, महाविद्यालय तथा संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।