तीनधारे: परमपूज्य श्री अमृता माताजीको पावन जन्मोत्सव पालन गर्दै खरसाङ तहसिल अन्तर्गत तीनधारे शाखाद्वारा मिठाइडाँडास्थित प्रगति संघ सार्वजनिक भवनमा सत्संग कार्यक्रमको आयोजना गरियो। खरसाङ तहसिल प्रभारी महात्मा असीमा बाइजीको अध्यक्षतामा सम्पन्न सत्संग कार्यक्रममा महानदी-तीनधारे समष्टिका सभासद नवराज छेत्री प्रमुख अतिथिका रुपमा उपस्थित थिए भने विशिष्ट अतिथिहरूमा ख्यातिप्राप्त संगीतकार, गायक कर्म मोक्तान, राकेश लामा, पञ्चायत सदस्य सदस्या अजय विश्वकर्म, बिनीता रसाइली, पञ्चायत समिति सदस्या स्नेहा बरदेवा, श्रीगणेश बेरोजगार सहकारी समितिका सभापति बिनयकुमार छेत्री, साहित्य कला संस्थान तीनधारेका सदस्य अर्जुन छेत्री तथा रेणुका कन्या उच्च विद्यालयका शिक्षक -शिक्षिकागण उपस्थित थिए। बाल सभा संयोजिका भावना गुरुङले सञ्चालन गरेकी कार्यक्रममा शाखा सचिव कौशिल्या रसाइलीले स्वागत वक्तव्य प्रस्तुत गरिन्। कार्यक्रममा खरसाङ बाल सभाकी वैभवी प्रधान अनि तीनधारेका दिव्याङ्का रसाइलीले नृत्य प्रस्तुत गरे भने युवा सदस्य इच्छा छेत्रीले कविता वाचन गरे साथै प्रचार सचिव शोभा छेत्रीले श्री अमृता माताजीको जीवनी पठन गरेर सुनाइन्। सत्संग कार्यक्रममा युवा सदस्य निरपना गुरुङ अनि केन्द्रीय समितिका प्रचार प्रसार सचिव एवम् सोनादा डिग्री कलेजका प्राध्यापक मेघनाथ छेत्रीले वक्तव्य राखेका थिए साथै सहयोगी महात्मा श्री लक्ष्मी बाइजी अनि प्रभारी महात्मा श्री असीमा बाईजीले आफ्ना सारगर्भित ओजस्वी सत्संग प्रवचनले सम्वोधन गरिन्।

प्रमुख अतिथिको सम्भाषणमा क्षेत्रीय सभासद नवराज छेत्रीले मानव उत्थान सेवा समिति, तीनधारे शाखाले प्रतिवर्ष नै तीनधारेमा भव्य सत्संग कार्यक्रम आयोजना गर्दै आइरहेको साथै नि:स्वार्थ भावले जनमानसमा आध्यात्मिक जागरण ल्याइरहेका छन् भने जसको निम्ति समितिप्रति उनले आभार प्रकट गर्दै तीनधारेका वरिष्ठ साहित्यकार, संगीतकार अनि सजग नागरिकहरूले पनि समितिको यस सत्प्रयासमा सहयोग पुर्याउनु पर्ने बताए। कार्यक्रममा तीनधारे शाखाद्वारा समितिका वरिष्ठ नारी सदस्यद्वय पदमा प्रधान अनि राधिका छेत्रीलाई प्रभारी बाइजीको कर-कमलबाट सम्वर्ध्दना पत्र प्रदान गरी सम्मान जनाए। कार्यक्रममा भक्ति संगीत मञ्चका कलाकारहरूका साथमा ख्यातिप्राप्त गायकद्वय कर्म मोक्तान अनि राकेश लामाले पनि सुन्दर भजनहरू प्रस्तुत गरी कार्यक्रमलाई थप रोचक बनाएका थिए। कार्यक्रमको अन्त्यमा अनुष्का गजमेरले धन्यवाद ज्ञापन गरेपछि आरतीका साथमा कार्यक्रम समापन गरियो भनी जानकारी प्राप्त भएको छ।