खरसाङ: साहित्य अकादमीको आयोजनामा कोलकोतामा सम्पन्न पूर्वाञ्जल क्षेत्रीय लेखक मिटमा भाग लिएर फर्किए तीनधारेको कवि मिलन प्रधान। साहित्य अकादमीको आयोजनामा गत १७ र १८ सेप्टेम्बरको दिन कोलकोतामा भएको पूर्वाञ्चल क्षेत्रीय लेखक मिटमा नेपाली भाषाको प्रतिनिधित्व गर्दै कवि मिलन प्रधान आफ्नो कविताहरू सुनाएका थिए। तीनधारेको नयाँ कमान निवासी कवि मिलन प्रधानले कोलकोताको साहित्य अकादमी अडोटोरियमा भएको पूर्वाञ्चल क्षेत्रीय लेखक मिट अन्तर्गत १८ सेप्टेम्बरको दिन भएको कार्यक्रममा आफ्नो सहभागिता जनाएका थिए।

कवि मिलन प्रधानले कविता सुनाउने सत्र मदन मोहन सेरेनको अध्यक्षतामा सम्पन्न भएको थियो। नेपाली भाषामा कवि मिलन प्रधानसितै बंगाला भाषामा विभास रोय चौधरी, अंग्रेजीमा सुफिया खातुन, मणीपुरीमा रञ्जिता सरकार र नेपालीमा कवि मिलन प्रधानले आफ्नो कविताहरू सुनाएका थिए। उक्त कार्यक्रममा कवि मिलन प्रधानले दुईवटा कविताहरू क्रमैले नेपाली र हिन्दी भाषामा सुनाएका थिए। प्राप्त जानकारी अनुसार हिन्दी भाषामा अनुवाद भएको कवि मिलन प्रधानले चियाबारीमाथि लेखिएको आफ्नो कविता सुनाउँदा दर्शक दीर्घाबाट निक्कै बेसी ताली आएको र कविताले धेरै प्रशंसा प्राप्त भएको जानकारी प्राप्त भएको छ। यसरी साहित्य अकादमीले आफुलाई यो सुन्दर अवसर प्रदान गरेकोमा कवि मिलन प्रधानले साहित्य अकादमी नयाँ दिल्ली अनि साहित्य अकादमी नेपाली भाषा परामर्श समितिको संयोजक डा जीवन नामदुङप्रति आभार प्रकट गरेका छन्। उनले यो यात्रामा धेरै अनुभवहरू प्राप्त गर्न सकेको बताएका छन्।

तीनधारेको नयाँ कमान निवासी कवि प्रधानले धेरै लामो समयदेखि कविताहरू लेखिरहेका छन्। उनको कविता संग्रह ‘ब्रेकिङ न्युजमा गाउँ’ प्रकाशित छन् भने उनले धेरै पत्र पत्रिकातिर कविताहरू प्रकाशित गरिरसकेका छन्। उनी गाउँ र चियाबारीलाई माया गरेर कविताहरू लगातार रूपमा लेखिरहेका छन्।
								



								

															
                    


