प्रथम आमा सम्मान दिवस भव्यतापूर्वक सम्पन्न

IMG-20250810-WA0140

३२०० आमालाई ‘आमा सशक्तीकरण योजना’ अन्तर्गत चेक वितरण

पाकिम: महिला, बालबालिका, वरिष्ठ नागरिक तथा दिव्याङ्गजन कल्याण विभागको आयोजनामा आज रम्फू खेल मैदानमा पहिलो आमा सम्मान दिवस २०२५ भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए।
विशिष्ट अतिथिहरूमध्ये मुख्यमन्त्रीकी आमा श्रीमती धनमाया तामाङ, धर्मपत्नी कृष्ण राई, विधानसभा अध्यक्ष एमएन शेर्पा, उपाध्यक्ष राजकुमारी थापा, मन्त्रीगण, विधायकगण, मुख्य सचिव आर. तेलाङ, सल्लाहकारगण, पूर्व मन्त्री तथा विधायक, विभागीय सचिव र अध्यक्षगण, पुलिस महानिर्देशक, जिल्ला पञ्चायत अध्यक्ष, नगर निगमका मेयर तथा पार्षद, ग्राम पञ्चायत सदस्यहरू लगायतको बाक्लो उपस्थिति थियो।
यस अवसरमा ३२ निर्वाचन क्षेत्रका ३२०० आमाहरूलाई “आमा सशक्तीकरण योजना” अन्तर्गत पहिलो किस्ता स्वरूप प्रतिआमा रु. २०,००० को चेक वितरण गरियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले आमाको स्थान सबै सिंहासनभन्दा महान् भएको उल्लेख गर्दै हरेक वर्ष अगस्त १० लाई आमा सम्मान दिवस-का रूपमा मनाइने घोषणा गरे।
मुख्यमन्त्री तामाङले महिला तथा आमाहरूको हितका लागि “वात्सल्य योजना”, “आमा सहयोग योजना” र “शिशु समृद्धि योजना” जस्ता विभिन्न कार्यक्रमहरूको विवरण प्रस्तुत गर्दै आगामी दिनमा पनि महिलाको सशक्तिकरणका लागि जनमुखी नीति अवलम्बन गरिने प्रतिबद्धता जाहेर गरे। उनले गान्तोक नगर निगममा कार्यरत आमाहरू, ग्राम पञ्चायत नेतृहरू, आशा र आँगनवाडी कार्यकर्ता, विद्यालय मध्यान्ह भोजन बनाउने आमाहरू र स्वयं सहायता समूहका २१० आमाहरूलाई पनि सम्मानित गरियो।
कार्यक्रममा महिला, बालबालिका, वरिष्ठ नागरिक तथा दिव्याङ्गजन कल्याण विभागद्वारा नारी अदालतको उद्घाटन गरियो, जसको उद्देश्य महिलामाथि हुने घरेलु हिंसा, छुवाछुत, बाल विवाह र अन्य सामाजिक अन्यायको समाधानमा सहयोग पुऱ्याउँदै न्याय सुनिश्चित गर्नु रहेको छ।
यस अवसरमा आमाहरूको भावनामा आधारित छोटो भिडियो र लघु चलचित्र पनि प्रदर्शन गरिएको थियो। उपस्थित विशिष्ट अतिथिहरूका हातबाट आमाहरूलाई चेक वितरण गरियो र नारी शक्तिद्वारा मुख्यमन्त्रीलाई अभिनन्दन पत्रद्वारा सम्मान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement