२० सेप्टेम्बरः हिमगिरी युथ क्लब, मंगपूको तत्त्वावधानमा आयोजित सलोनी राई स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा गैरी गाउँ, समबंगको टीमले रोमाञ्चक जीत हासिल गऱ्यो। शारदा हाई स्कूल नजिक मंगपू डीविजनल ग्राउण्डमा आज म्याचमा गैरी गाउँले मंगपू युथ क्लबलाई ३-२-ले पराजित गऱ्यो। गैरी गाउँबाट सिद्धान्त र अभिषेकले १-१ गोल गरे। यसरी नै अविनाश राईले आत्मघाती गोल गर्दा गैरी गाउँलाई तेस्रो गोल हासिल भयो। यसरी नै मंगपू युथ क्लबबाट सोनु तामाङले दुवै गोल गरे। अब भोलि खेलिने म्याचमा कालेबुङ पुलिस र बिजनबारी एफसी-बीच भिड़न्त हुनेछ। यस नाइन ए साइड फूटबल टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक हिमगिरी युथ क्लबका कार्यकारी सदस्य रोमन आलेले बताएका छन्।








