दार्जीलिङ: ३४औं भाषा मान्यता दिवसलाई केन्द्र गरेर आयोजित जीटीए स्तरीय अन्तर महाविद्यालयबीच चलिरहेको तर्क सभाको सेमीफाइनल आज दार्जिलिङको साउथ फिल्ड कलेजमा सम्पन्न भएको छ। यस सेमी फाइनलको पहिलो चरणमा कालेबुङ कलेज र खरसाङ महाविद्यालय अनि दोस्रो चरणमा दार्जिलिङ साउथ फिल्ड र मिरिक महाविद्यालयमाझ सम्पन्न भएको थियो। यसमा खरसाङ महाविद्यालय र साउथ फिल्ड कलेज बिजय भएर फाइनलमा प्रवेश गरेको छ। अखिल भारतीय विद्यार्थी महासंघको तत्त्वावधानमा भइरहेको यस प्रतियोगिताको फाइनल २० अगस्त बुधबार गोर्खा रङगमञ्च भवनमा पालन गरिने भाषा दिवसको अवसरमा हुनेछ। आजको सेमी फाइनलको अध्यक्षता प्राध्यापक कबीर बस्नेतले गरेका थिए भने प्रमुख अतिथिको रुपमा डा. गीता छेत्री उपस्थित रहेका थिए। कार्यक्रममा निर्णायकको रुपमा खरसाङबाट पारसचन्द्र आले, मिरिकबाट राजबहादुर राई, कालेबुङबाट भुवन पी खनाल र मङ्पुबाट शरण मुस्कान रहेका थिए। यस तर्क प्रतियोगितालाई अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ दार्जिलिङ महकुमा समितिको सभापति सुभम गुरुङले सञ्चालन गरेका थिए।
पहाडका विद्यार्थीहरुबीच भाषामाथि जागरुकता अनि यसलाई संरक्षणमा ल्याउने उद्देश्यमा पछिल्लो समयदेखि विविध कार्यक्रम आयोजना गर्दै आइरहेको अखिल भारतीय विद्यार्थी महासंघद्वारा यसचोटि आयोजित उक्त तर्क सभाको फाइनलमा जीटीए कार्यपाल अनित थापा लगायत भाषाविद्हरु उपस्थित रहने बताइएको छ।