मुख्यमन्त्रीले राज्यमा अपराध दर घटेको छ भन्नु हाँस्यास्पदः एसडीएफ

IMG-20250809-WA0144

गान्तोक: राज्यमा अपराध दर घटेको छ भन्ने मुख्यमन्त्री प्रेमसिंह तामाङको वक्तव्य हाँस्यास्पद रहेको सिक्किम डेमोक्रेटिक फ्रण्टका प्रवक्ता अरुण लिम्बूको भनाइ रहेको छ। राज्यमा पछिल्ला समय प्रकाशमा आएका केही अपराधिक घटनाको उल्लेख गर्दै सिक्किममा पछिल्ला समय अपराध दर घटेको छ भन्ने मुख्यमन्त्रीको दावी हाँस्यापद रहेको जससाई कसैले पनि नपत्याउने उनले बताए। उनी आज गान्तोकमा पार्टीको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै थिए।
आफै अपराधिक मामिलामा एक वर्ष जेलको सजाय काटेर आएका व्यक्ति मुख्यमन्त्री भएको राज्यमा अपराध दर घटेको दावी आफैमा अपत्यारिलो हुने उनले बताए। सिक्किममा अपराध दर घटेको छ कि छैन भनेर पदम गुरुङको आमालाई सोद्धनु, पूर्व विधानसभा अध्यक्ष एवं मन्त्री केएन राईको परिवारलाई सोद्धनु, उनले भने।
पछिल्ला समय राज्यमा कानून व्यवस्था फ्यातुलो बन्दै गएको दावी गर्दै अरुण लिम्बूले यस विषयमा सिक्किम पुलिसका महानिदेशक अक्षय सचदेवाको पनि आलोचना गरेका छन्। कुनै समय (एसडीएफ सरकारकालमा) हिन्दी चलचित्र सिङ्गम-का नायक सिङ्गम जस्तो निडर र निस्पक्ष, वरिष्ठ आइपीएस अधिकारी सचेदावा पनि अहिल लाचर बनेको उनको भनाइ रहेको छ। एसडीएफ सरकारकालमा तत्कालीन मुख्यमन्त्री पवन चामलिङका छोरालाई समेत पक्राउ गर्ने आइपीएस अधिकारी अक्षय सचदेवा अहिले सानोभन्दा सानो एसकेएम कार्यकर्तालाई पनि औंला उठाउन नसक्ने अवस्थामा पुगेको लिम्बूले बताए। त्यसैले राज्यको कानून व्यवस्थालाई फेरि एकपल्ट सशक्त बनाउन उनले अक्षय सचदेवालाई सिङ्गमको अवतारमा आउने आग्रह गरेका छन्। आज तपाईंको नाकमुनी सदर थानामा विपक्षी राजनीतिक पार्टीका कार्यकर्ताहरूमाथि आक्रमण भइरहेको छ, उनले भने।
राज्यमा अनलाइन गेमिङको कारण आत्महत्याको घटना बड़ेर गएको मुख्यमन्त्री तामाङको बयानमाथि पनि अरुण लिम्बूले कटाक्ष गरेका छन्। मुख्यमन्त्रीले अनलाइन गेमिङ नखेल्नु भनेर उल्टा त्यसैको प्रचार गरेको उनले बताए। यदि अनलाइन गेमिङले राज्यमा आत्महत्याको घटना बड़ेको हो भने सरकारले किन त्यसलाई बन्द गर्दैन भन्दै उनले प्रश्न तेर्साएका छन्। मुख्यमन्त्रीको बयानले उल्टा अनलाइ गेमिङकै नेगेटिभ प्रचार भएको छ, उनले भने। एकातिर मुख्यमन्त्रीले अनलाइन गेमिङको आलोचना गर्ने अर्कोतिर सम्बन्धित विभागका सचिवले भने सिक्किमको आफ्नै अनलाइन गेम खेल्ने आह्वान गरेर विरोधाभाषी बयान दिएको पनि लिम्बूले थप बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement