गान्तोक: वरिष्ठ महिला पत्रकार राधिका प्रधानद्वारा लिखित कथा-कविता सङ्ग्रह ‘परिस्थिति’ को लोकार्पण गरियो। स्थानीय एमपी गोलाइस्थित प्रेस क्लब भवनको प्रेक्षागृहमा सम्पन्न कार्यक्रममा प्रेस क्लबका अध्यक्ष भीम राउत, पूर्व अध्यक्ष शेखर खवास, वरिष्ठ पत्रकार निता निराश, हिमाली बेला दैनिककी सम्पादक माला राणा पात्रो विशिष्ट अतिथिका रुपमा उपस्थित थिए। कार्यक्रममा वरिष्ठदेखि कनिष्ठ पत्रकारहरूको उपस्थिति रहेको थियो। सन् १९४२ मा जन्मिएकी राधिका प्रधानले आफ्नो पेशाबाट आर्जन गरेको अनुभव र ज्ञान समाजलाई दिने उद्देश्यले कृति तयार ९गरिएको छ। १९८०-को दशकदेखि नै पत्रकारिता क्षेत्रमा योगदान दिँदै आएकी राधिका प्रधान सिक्किम दर्शन साप्ताहिक समाचार-पत्रकी सम्पादक तथा प्रकाशिका रहेकी छन्। सिक्किममा पत्रकारिताको शैशवकालदेखि नै योगदान दिँदै आएकी प्रधानले पत्रकारितासँगै साहित्य लेखनमा पनि योगदान पुर्याशउँदै आएकी छन्। यसभन्दा अघि उनले चित्कार र गुलाब दिवस नामक पुस्तक पनि पाठकसमक्ष ल्याइसकेकी छन्। यस अवसरमा उनले सिक्किमेली पत्रकारहरूको लामो समयदेखि थाँतीमा रहेका मागहरू पूरा गरेबापत सिक्किमका मुख्यमन्त्री पीएस गोलेलाई धन्यवाद दिएकी छन्। यतिका वर्षसम्म सिक्किमेली पत्रकारहरूको स्थायी ठेगाना थिएन तर मुख्यमन्त्रीले उक्त मागलाई तुरुन्त पूरा गरिदिएको उल्लेख गरेकी छन्। यस्तै प्रकारले दीर्घलम्बित पेन्शनको मागलाई पनि मुख्यमन्त्रीले तुरुन्त पूरा गरिदिएको उल्लेख गर्दै २० वर्षभन्दा लामो समय काम गरिसकेका अग्रज पत्रकारहरूलाई सम्मान जनाउने प्रथा शुरु गरेकोमा खुसी व्यक्त गरिन्। यस अवसरमा उनले आफूले पत्रकारिता जीवनमा हासिल गरेका अनुभवहरूबारे पनि खुलेर कुरा राखिन्। उनले पुस्तक प्रकाशनका लागि आफूलाई साथ-सहयोग पुर्यारउने सबैप्रति कृतज्ञता प्रकट गरिन्। कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस क्लब अफ् सिक्किमका अध्यक्ष भीम राउतले लेखक राधिका प्रधानलाई तेस्रो पुस्तकका निम्ति बधाई दिए। उनले आठ दशक उमेर पार गरेर पनि साहित्य रचनाप्रति प्रधानको उत्साह निश्चित रूपमा युवाहरूका लागि प्रेरणा स्रोत रहेको बताए। यस्तै प्रकारले प्रेस क्लबका पूर्व अध्यक्ष शेखर खवासले लेखक राधिका प्रधानलाई बधाई दिँदै उनले सदैव पत्रकारहरूको हितमा सोच्ने गरेको बताए। पूर्व पत्रकार तथा शिक्षिका हेमलता गुरुङले सञ्चालन गरेको कार्यक्रममा सिक्किम दर्शन प्रकाशन परिवारको तर्फबाट वरिष्ठ पत्रकारहरूलाई पनि सम्मान जनाइयो।