गान्तोक: विपक्षी सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीको नाम्ची जिल्लास्तरीय सभा आज नाम्चीस्थित जिल्ला कार्यालयमा सम्पन्न भयो। सभामा नाम्ची-सिङ्गिथाङ तथा पोकलोक-कामराङ निर्वाचन क्षेत्रका पार्टी कार्यकर्ताहरूको सक्रिय सहभागिता रहेको थियो। सभाको अध्यक्षता संगठनका उपाध्यक्ष तथा नाम्ची जिल्ला प्रभारी जेम्स राईले गरे। सभामा पार्टी कार्यकर्ताहरूले हाल भोग्नु परिरहेको परिस्थितिहरुप्रति चर्चा गर्दै यस्तो स्थितिमा एकजुट भएर सामना गर्नुपर्ने प्रतिवद्धता देखाए। बैठकमा आगामी कार्यक्रमहरू, योजना र रणनीतिहरूबारे विस्तृत रुपमा छलफल गरियो। यसका साथै क्षेत्रीयस्तरमा गर्नुपर्ने कार्यहरूको सम्बन्धमा गम्भीर संवादसहित, कार्यान्वयनका लागि जिम्मेवारीहरू पनि बाँडफाँड गरिएको छ। कार्यक्रममा बोल्दै पार्टीका जिल्ला अध्यक्ष रमेश किराँतले पार्टीमा युवाहरूको सक्रिय उपस्थितिलाई सकारात्मक संकेतका रूपमा लिएर आगामी कार्यनीति तयार पार्नुपर्ने उल्लेख गरे। उनले आज एसडीएफ पार्टीका अधिकांश जिम्मेवारीहरू युवा नेताहरुले गरिरहेको बताउँदै जुन पार्टीको उज्ज्वल भविष्यतर्फ उन्मुख रहेको दाबी गरे। एसडीएफ एक युवामुखी पार्टी हो भन्दै उनले सधैं समय र परिस्थितिको मागअनुसार जनताको पक्षमा आवाज उठाउँदै आएको बताए। सभाध्यक्ष जेम्स राईले उपस्थित कार्यकर्ताहरूमा थप उर्जा र जोस भर्ने काम गरेका थिए।