कालेबुङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा कालेबुङ खण्ड दुईको स्थायी समिति गठनसँगै मणिकुमार खवासलाई सर्वसम्मतिले अध्यक्ष पदमा चयन गरिएको छ। स्थानीय साङसे कर्बुटारमा टिकाराम राईको अध्यक्षतामा सम्पन्न भएको खण्ड स्तरीय सांगठनिक सभामा खण्ड दुई अन्तर्गत पर्ने दुईवटा समष्टिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सभामा संगठनको संरचना विस्तार, सांगठनिक सुदृढीकरण र कार्यदिशाबारे व्यापक छलफल भएको थियो। छलफलकै क्रममा खण्ड दुईलाई स्थायी समिति बनाउने प्रस्ताव पारित गर्दै नयाँ कार्यसमिति गठन गरिएको हो। गठित स्थायी समितिको अध्यक्ष पदमा मणिकुमार खवास साथै उपाध्यक्षमा दलजित सुब्बा, मूल सचिवमा पासाङ शेर्पा, सहसचिवमा लाक्पा तामाङ, कोषाध्यक्षमा प्रेम दोर्जी शेर्पा अनि कुमार तामाङलाई चयन १३ जनाको कार्यकारिणी समिति चयन गरिएको छ।नव-निर्वाचित अध्यक्ष मणिकुमार खवासले सभा पछि जानकारी गराउँदै भने, “आगामी दिनहरूमा खण्ड दुई कमिटीले समष्टि स्तरमा सांगठनिक विस्तारलाई तीव्रता दिनेछ। दुईवटै समष्टिमा रहेका शाखा–प्रशाखाहरूलाई सक्रिय बनाउँदै संगठनलाई थप बनाउने हाम्रो प्राथमिकता हुनेछ।”