घुम: घुम जोरबंगलो कलेजमा राष्ट्रिय सेवा योजना (एनएसएस)का क्षेत्रीय निर्देशक जाङ्जिलङको विशेष भ्रमण कार्यक्रम सम्पन्न भयो। कलेजको सभागृहमा आयोजित कार्यक्रममा कलेजका प्राचार्य, शिक्षक–शिक्षिका, विद्यार्थी, एनएसएस स्वयम्सेवक तथा स्थानीय समुदायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमको सुरुवातमा क्षेत्रीय निर्देशक जाङ्जिलङलाई माल्यार्पण र खादा अर्पण गरी सम्मान गरिएको थियो। त्यसपछि दिप प्रज्ज्वलन समारोहमार्फत् कार्यक्रमको औपचारिक शुभारम्भ गरियो। स्वागत मन्तव्यपछि विद्यार्थी प्रिया र समूहले प्रस्तुत गरेको नेपाली लोक नृत्य र प्रिशाली दर्नालको सुमधुर गीतले कार्यक्रमलाई सांस्कृतिक रङ्ग दिएको थियो।

कलेजका प्राचार्यले स्वागत भाषण दिँदै एनएसएसको महत्व र घुम जोरबंगलो कलेजको चारवटा सक्रिय एकाईँद्वारा विगत केही वर्षयता गरिएका सामाजिक सेवाका गतिविधिहरूको समीक्षा गरे। उनले विद्यार्थीहरूमा स्वेच्छिक सेवा भावना, नेतृत्व क्षमता र सामाजिक जिम्मेवारी विकासमा एनएसएसले महत्वपूर्ण भूमिका खेलेको बताए। क्षेत्रीय निर्देशक जाङ्जिलङले अभिमुखीकरण सत्र (Orientation) मार्फत् विद्यार्थी र स्वयम् सेवकहरूलाई एनएसएसको उद्देश्य, कार्यक्षेत्र र भविष्यको योजनाबारे विस्तृत मार्गदर्शन प्रदान गरे। उनले एनएसएसद्वारा गरिएको स्वच्छता अभियान, स्वास्थ्य शिविर, पोषण जनचेतना र महिला सशक्तिकरण कार्यक्रमको प्रशंसा गर्दै निरन्तर सामाजिक योगदानको अपेक्षा राखे।

कार्यक्रमको अन्त्यमा कलेजतर्फबाट क्षेत्रीय निर्देशकलाई स्मृति चिह्न प्रदान गर्दै धन्यवाद ज्ञापन गरिएको थियो। डा. महेश दाहालको उद्घोषणामा कार्यक्रम सञ्चालित थियोे। कार्यक्रमले कलेजका विद्यार्थीहरूमा सेवा भावना र समाजप्रति उत्तरदायित्वको भावना अझ प्रगाढ बनाउन मद्दत पुर्याएको सहभागीहरूले बताएका छन्।