खरसाङ: खरसाङ महकुमा अन्तर्गत गाडीधुराको एउटा सामाजिक संस्था गाडीधुरा नवदीप परिवारले यस वर्षदेखि स्थानीय एक सामाजिक कार्यकर्ता स्वर्गीय भीम लकान्द्रीको स्मृतिमा एउटा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। विशेषगरी विभिन्न सामाजिक कार्यहरूमा आफ्नो बहुमूल्य योगदान दिइरहेका कोही एक विशिष्ट व्यक्तिलाई यो पुरस्कार प्रदान गरिने जनाइएको छ। यस सम्बन्धमा शुक्रवार स्थानीय विभिन्न संङ्घ-संस्थाका प्रतिनिधिहरूलाई लिएर एक सभाको आयोजना गरियो। सभापछि पत्रकारहरूलाई जानकारी गराउँदै परिवारको पक्षबाट अनुप रामुदामुले आगामी २५ अगस्त यहाँ एक बलिदान दिवस कार्यक्रम आयोजना गरिने जानकारी गराउँदै यसको निम्ति आज स्थानीय सबै सङ्घ-संस्थाका प्रतिनिधिहरूलाई निम्ताएर यसबारे छलफल गरिएको बताए। उनले यसै अवसरमा एक खुल्ला कविता वाचन प्रतियोगिता पनि राखिएको अवगत गराउँदै प्रतियोगिताको फारम गत ५ अगस्तदेखि वितरण गर्न शुरू गरिएको पनि जनाए। तिनले उक्त प्रतियोगितामा सबै इच्छुक कविहरूलाई सहभागी भइदिने आग्रह पनि गरेका छन्। तयसरीनै परिवारका महासचिव रोशन विश्वकर्माले बलिदान दिवसकै अवसरमा गाडीधुरा नवदीप परिवारले अबउसो प्रत्येक वर्ष भीम लकान्द्रीको नाममा “स्वर्गीय भीम लकान्द्री स्मृति पुरस्कार” प्रदान गरिने घोषणा गरे।