खरसाङ: खरसाङ नगरपालिकाको वार्ड नम्बर ९ अन्तर्गत सुधपा टोल क्षेत्रमा रोड ठूलो प्वाँल परेपछि खरसाङको टुरिस्ट लजदेखि सिलगढी जाने बाईपास रोड बन्द भएको छ। विशेष गरेर खरसाङ बजारमा आउन अघि टुरिस्ट लजदेखि कप्तान सुरज शर्मा पथ भएर पंखाबारी रोड हुँदै सिलगढी जाने रोड सडकको यो अवस्थाको कारण बन्द गरिएको छ। यो बाईपास रोडमा टुरिस्ट लजमुनितिर झोडा नजिक रहेको रोडमा प्वाँल पर्नुको साथै झोडाले रोडको अरु भाग पनि तान्न लागेको देखिएको छ जसको कारण पुलिस प्रशासनले यस रोडमा गाडीहरु कुदाउन बन्द गरेको छ। उक्त रोडको निरीक्षण गर्नलाई २८ नम्बर खरसाङ चिमनी देवराली समष्टिको सभासद श्याम शेर्पा पुगेका थिए। उनले यस रोडको निरीक्षण गरेर जीटीए प्रमुख कार्यपाल अनित थापालाई जानकारी गराएर सम्बन्धित विभागसित बसेर कार्य थालि हाल्ने निर्देशन दिइएको सभासद श्याम शेर्पाले बताए। उनले अहिले रोडमा गाडीहरु कुदाउन खतरा रहेकोले गाडीहरु, बाइक, स्कुटी आदि नकुदाई दिने अनुरोध पनि गरेका छन्। यस रोडको निरीक्षणमा खरसाङ अभियन्ता विभागका अभियन्ताहरु पनि आएका थिए।

हालमा यस रोडमा गाडीहरु साथै स्कुटी बाइकहरु पनि कुदाउन बन्द गरिएको छ भने यस रोडको मरमत्तिको लागि कार्य चाढै शुरु गरिने बताइएको छ। युवा शक्ति खरसाङ टाउन कमिटीकोे सभापति बन्धन लामाले बिहान बाईपास रोडको सुधपा टोल क्षेत्रमा रहेको झोडा नजिक रोडमा प्वाँल परेको तथा झोडाबाट रोड तान्दै गरेको अवस्थामा रहेको कारणले निरीक्षण गरेर क्षेत्रीय सभासद साथै विभागलाई पनि जानकारी गराएको बताए। उनले यो बाइपास रोड सिलगढी जाने रोड रहेको र यसलाई झट्टै मरमत्ति गरिनु पर्ने माग रहेको बताएका छन्।