सोरेङमा दोस्रो डिजिटल नोम्याड भिलेज बनाउने विधायक गोलेको घोषणा

IMG-20250807-WA0128

सोरेङ: सोरेङ जिल्लामा देशको दोस्रो डिजिटल नोम्याड गाउँ बनाउने दिशामा पहल शुरु भएको मन्तव्य विधायक आदित्य गोलेले राखे। आज सोरेङमा आयोजित स्वाधीनता दिवस समारोहको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा विधायक गोलेले उक्त मन्तव्य राखेका हुन्। उल्लेख्य, पाकिम जिल्लाको याक्तेन गाउँ भारतकै पहिलो डिजिटल नोम्याड गाउँको रुपमा अगावै घोषणा भइसकेको छ। याक्तेन गाउँलाई पछ्याउँदै सोरेङ-च्याखुङ समष्टिमा पनि यस्तै डिजिटल नोम्याड भिलेज बनाउने तयारी जिल्ला प्रशासनको सहकार्यमा उनी लागिपरेको विधायक गोलेले बताएका छन्। विधायक आदित्य गोलेको नेतृत्वमा गत बुधबार सोरेङ जिल्लाका जिल्लापाल धीरज सुवेदी, अतिरिक्त जिल्लापाल डीआर बिष्ट, सुचना प्रौद्योगिकी विभागका सहायक निर्देशक अमीर भण्डारी र जिल्ला प्रशासनका अन्य अधिकारीहरूले याक्तेन गाउँको भ्रमण गरेका थिए। यसै भ्रमणबाट सिकेका कुरालाई आज विधायक गोलेले कार्यक्रममा अरुसँग साझा गरे। भ्रमणको प्राथमिक उद्देश्य डिजिटल नोम्याडहरूको लागि तयार पारिएको समुदाय-सञ्चालित होमस्टे मोडलको प्रत्यक्ष बुझाइ प्राप्त गर्नु र यसको दैनिक कार्यप्रणालीको अध्ययन गर्नु रहेको विधायक गोलेले बताए। भ्रमण टोलीले पर्यटन विभाग, होमस्टे मालिकहरू लगायत विभिन्न सरोकारवालाहरूसँग अन्तरक्रिया गरेको अनि भ्रमणको क्रममा टोलीले देश र विदेशका दुर्गम कामदारहरूको आवश्यकताहरू पूरा गर्न याक्टिन गाउँले कसरी स्थानीय संस्कृति, दिगो पर्यटन र आधुनिक डिजिटल पूर्वाधारलाई सफलतापूर्वक मिश्रण गरेको छ सोबारे अवलोकन गरेको बताए। डिजिटल नोम्याड गाउँको अवधारणाले सामुदायिक सहभागिता, क्षमता निर्माण र स्थानीय बासिन्दाहरू बीच आर्थिक लाभको कारण सांस्कृतिक संरक्षण र आर्थिक वृद्धि दुवैलाई बढावा पुग्ने विधायक गोलेको मन्तव्य थियो।

About Author

Advertisement