गान्तोक: भारतीय गोर्खा परिसंघ, सिक्किम शाखाले शाखाका एक संरक्षक तथा प्रबुद्ध साहित्यकार पद्मश्री सानु लामाको निधनप्रति श्रद्धाञ्जली सभाको आयोजन गऱ्यो। सिक्किम अकादमीका अध्यक्ष एवं भागोपका संरक्षक एसआर सुब्बाको अध्यक्षतामा आयोजित कार्यक्रममा संघका सल्लाहकारगण, संरक्षक अनि अध्यक्ष चुनिलाल घिमिरे लगायत धेरै संख्यामा सदस्यहरूको उपस्थिति रहेकोथियो। पद्मश्री सानु लामाको संस्मरणमा दीप प्रज्ज्वलन, पुष्पअर्पण गर्नकासाथै रूद्र पौड्याल, कविता शर्मा र एसआर सुब्बाले सानु लामाको जीवन र कर्ममाथि प्रकाश पारे। संघका अध्यक्ष चुनिलाल घिमिरेले सानु लामाका ‘जहाँ बग्छ टिस्टा-रंगीत’देखि अन्तिम समयका गीतहरूमाथि काम गर्न पाएकोमा संस्मरण साझा गर्दै अब अर्को सानु लामा जन्मिनु धेरैसमय लाग्ने बताए। आजको सभामा भारतीय गोर्खा परिसंघ सिक्किम शाखाका सल्लाहकार कुबेरचन्द्र दाहाललाई नयाँ कृतिका निम्ति, कवि अमर बानियाँ ‘लोहोरो’लाई साहित्य अकादमी अनुदित पुरस्कारका निम्ति अनि चन्द्रा राईलाई भाषासेवाश्री सम्मानका निम्ति सम्मान पनि जनाइयो। कार्यक्रमको दोस्रो सत्रमा यसपालिको ‘बलिदान दिवस’सितम्बर महीनाको दोस्रो सातामा मनाउने निर्णय लिइयो तथा २५ अगस्तको दिन शहीद दुर्गा मल्लको तस्वीरमा माल्यार्पण र साधारण कार्यक्रम आयोजन गरिनेछ। सिक्किमेली नाट्य परम्पराको सयवर्षको इतिहास, सिक्किममा प्रजातन्त्र भित्रिएको स्वर्ण जयन्ती र भारतीय गोर्खा परिसंघको रजत जयन्ती वर्षलाई केन्द्रित गर्दै शहीद दुर्गा मल्लको जीवनीमा आधारित नाटक ‘बलिदान’को पुनःमञ्चन गरिने सभाले निर्णय लिएको छ। सोही दिन नेपाली/गोर्खा जातिका केही व्यक्तित्वहरूलाई ‘गोर्खा गौरव’सम्मान प्रदान गरिने निर्णय लिदै यसका निम्ति पाँच सदस्यीय निर्णायक मण्डली गठन गरिएको छ। ‘बलिदान दिवस’कै दिन परिसंघले एउटा स्तरीय पत्रिका प्रकाशन गरेर लोकार्पण गर्ने निर्णय लिएको छष जसको निम्ति निर्द्रेष्टा, सल्लाहकारगण अनि सम्पादक मण्डली र व्यवस्थापक मण्डलीको गठन पनि गरिएको छ। पत्रिकाका निर्द्रेष्टाहरू क्रमैले एसआर सुब्बा, कुबेरचन्द्र दाहाल, प्रताप प्रधान, रूद्र पौड्याल, डीआर नेपाल, सीपी गिरी (आईपीएस) रेणुका चक्रवर्ती मनोनित भएका छन्। सम्पादक मण्डलीमा अमर बानियाँ ‘लोहोरो, बिमल काफ्ले, खुसेन तिमसिना ‘तागासी’ भीम प्रधान, राधा पाण्डे मनोनित गरिएका छन्। व्यस्थापनमा उपेन सिलाल, कुबेर बिष्ट, ललित लोहार, जीवन कटुवाल र सीबी गुरूङलाई मनोनित गरिएको छ। कोष र वितीय व्यवस्था चन्द्रा राई र प्रदिप रसाइलीले हेर्ने छन्। ‘गोर्खा गौरव’चयन समितिको नाम अहिले उल्लेख नगर्ने सभाले निर्णय लिएको छ। बलिदान नाटककी कार्यकारी निर्देशक श्रद्धा छेत्री, प्रमुख सहायक निर्देशक सुमन राई र कलाकारहरूसित लेखक अनि निर्देशक चुनिलाल घिमिरेद्वारा समीक्षा बैठक पनि राखिएको थियो।