गान्तोक: हालै राज्य सरकारको विभिन्न विभागमा नियुक्त भएका शेर्पा समुदायका ६ जना विशिष्ट व्यक्तिलाई सम्मानित गरियो। समुदायका ६ जनाले ओएसडी, अध्यक्ष र सल्लाहकारकारूपमा नियुक्त पाएका हुन्। आज बोझोघारीस्थित एक होटलमा आयोजित कार्यक्रममा सम्मान जनाइयो। डेञ्जोङ शेर्पा एसोसिएशनद्वारा आयोजन गरिएको उक्त बधाई कार्यक्रमको अध्यक्षता रिम्पोछे दावा जाङपो कुन्ख्या दोर्जीले गरेका थिए। मुख्य अतिथिकोरूपमा रहेका सिक्किम विधानसभा अध्यक्ष एमएन शेर्पाले सबै पदाधिकारीहरुलाई स्वागतसितै सम्मान जनाए। यस अवसरमा साङगे शेर्पा, मिङमा ल्हमु शेर्पा, फूर्बा रिजिङ शेर्पा, छोपेल शेर्पा, निमछिकी शेर्पा र डेन्डुप शेर्पालाई सम्मान जनाइयो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि सिक्किम विधानसभाका अध्यक्ष शेर्पाले विभिन्न पदमा नियुक्त भएका पदाधिकारीहरुलाई बधाई साथै शुभकामना व्यक्त गर्दै जनताको सेवामा समर्पित भएर इमान्दारपूर्वक काम गर्नुपर्ने आग्रह गरे। यदि पूर्व सरकारको कार्यकालमा नै शेर्पा समुदायले भवन पाएको भए अहिले यसरी होटलमा कार्यक्रम गर्नुपर्ने स्थिति हुँदैन थियो, तर त्यसबेलाको सरकारको शेर्पा समुदायलाई हेर्ने दृष्टिकोण फरक रहेको कारण शेर्पा समुदायलाई अन्याय भएको किटान गरे। तर एसकेएम पार्टीको सरकार गठन हुनसाथ शेर्पा भवन निर्माणको निम्ति ११ करोड भन्दा अधिक धनराशि छुट्टाउनको साथै जमीन उपलब्ध गराएको दाबी गरे। उनले सिक्किम सरकारलाई धन्यवाद दिँदै सम्पूर्ण शेर्पा समुदायको तर्फबाट यस उपलव्धिका लागि कृतज्ञता प्रकट गरे। हाल उक्त भवनको निर्माण कार्य लुम्सेमा युद्धस्तरमा भइरहेको र आगामी वर्षभित्र निर्माण कार्य पुरा हुनसक्ने उनले बताए। अध्यक्ष शेर्पाले थप जानकारी गराएअनुसार वर्ष २०१९ को सिक्किम विधानसभा चुनाउमा मुख्यमन्त्री तामाङले शेर्पा समुदायले सहयोग गरेको खण्डमा मन्त्रीको पद दिने आश्वासन दिएका थिए चुनाउ जितेपछि आफ्नो वचन पुरा गरेको दाबी गरे। अहिलेसम्म सिक्किम विधानसभामा शेर्पा समुदायबाट एकजना पनि अध्यक्ष हुन सकेका थिएनन् तर एसकेएम सरकारले अध्यक्षको पदमा शेर्पा समुदायबाट नियुक्त गरेर सम्पूर्ण शेर्पा समुदायको शिर खडा गर्ने अवसर दिएको बताए। यस अवसरमा डेञ्जोङ शेर्पा एसोसिएशनका अध्यक्ष साङगे शेर्पाले आफ्नो सम्बोधनमा यसभन्दा अघि पनि धेरैवटा सरकार आए तर शेर्पा समुदायको हितमा कसैले काम नगरेको दावी गरे। एसकेएम पार्टीको सरकारमा आउनसाथ शेर्पा समुदायको हितमा धेरै काम गरेकोमा उनले सरकारप्रति कृतज्ञता प्रकट गरे। यसभन्दा अघि शेर्पा समुदायबाट केवल दुईजना मात्र ओएसडी, अध्यक्ष र सल्लाहकारको पदमा नियुक्ति भएका थिए तर यो वर्ष भने छजनालाई नियुक्ति गरेर उदाहरण प्रस्तुत गरेको बताए। कार्यक्रममा डीएसएका महासचिव सोनाम ग्याछो शेर्पाले पनि सम्बोधन गरेका तिए। कार्यक्रममा संस्थाका नव नियुक्त सल्लाहकारहरूलाई नियुक्त पत्र प्रदान गरियो।