तीनधारे महानदी समष्टिमा अग्निशमन केन्द्रको पुनः उठ्यो माग
खरसाङ: तीनधारे महानदी समष्टि अन्तर्गत शिवखोला ग्राम पञ्चायतमा पर्ने मालुटार चियाबारीको दोकान डाँडामा आगलागीमा एक घर जलेर स्वाहा भएको छ। बुधबार बिहान १० बजीतिर मालुटार चियाबारीको दोकानडाँडा निवासी देबेन्द्र सुब्बाको घर जलेर स्वाहा भएको छ। प्राप्त जानकारी अनुसार बिहान कमानमा काम गर्न गएको समय घरमा वृध्द पिता मात्र भएको बेला घरबाट धुवाँ निस्केको देखेर स्थानीयहरुले गएर हेर्दा घरमा आगो लागिरहेको देखेर हतार हतार निभाउँदा पनि सबै जलिसकेको बताइएको छ। देवेन्द्र सुब्बाको काठको दुई तल्ले घर आगलागीको कारण जलेर सबै स्वाहा भएको छ। उनको घरको नजिकमा रहेको सीबीराज सुब्बाको घर र प्रनिल सुब्बाको दोकानलाई पनि क्षति पुगेको स्थानीय राजु सुब्बाले बताएका छन्।

स्थानीयहरुको सहयोगमा आगो अरुतिर जान भने रोकिएको बताइएको छ। तर देबेन्द्र सुब्बाको घरबाट भने केही पनि निकाल्न नपाएको र घरमा भएको सबै सामानहरु जलेर नष्ट भएको जानकारी प्राप्त भएको छ। पछिबाट खरसाङ अग्निशमन केन्द्रबाट अग्निशमनको गाडी आएर आगो निभाउँदै गरिएको देखिए पनि आगलागीमा घर सबै स्वाहा भईसकेको बताइएको छ। उक्त आगलागीको घटना विषयमा पिढीत देबेन्द्र सुब्बाले आगो के कारणले लागेको केही थाहा नभएको तर आगलागीको कारण घर स्वाहा भएको र घरभित्रबाट केही निकाल्न नपाएको बताएका छन्। उनले आगलागीको कारण घरभित्रबाट एउटा धागो पनि निकाल्न नसकिएको बताए। आगलागीको कारण लुगाफाटा, सुन चाँदी, कागज पत्रहरु, सर सामानहरु केही पनि निकाल्न नसकिएको बताएका छन्। सुब्बाले घरभित्र भएको केही पनि निकाल्न नपाएको कारणले स्थानीय जनप्रतिनिधिहरु र स्थानीय सरकार समक्ष सहयोगको गुहार मागेका छन्। उक्त घटनाको विषयमा जीटीए प्रमुख अनित थापालाई जानकारी गराइएको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सभापति राजीव थापाले बताएका छन्। उनी अनुसार तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री र शिवखोला ग्राम पञ्चायतको पञ्चायत प्रधान मोहनकुमार प्रधान पनि घटनास्थलमा पुगेर निरीक्षण गरेर आवश्यक रुपमा सहयोग गर्ने साथै केही तत्कालीन सहयोग गरिएको बताइएको छ। अग्नि पिढीत देबेन्द्र सुब्बालाई तत्काल राहत सहयोगको रुपमा शिवखोला ग्राम पञ्चायतको तर्फबाट सहयोग गरिएको जानकारी प्राप्त भएको छ। यस आगलागीको घटनास्थलमा स्थानीय पञ्चायत सदस्यहरु बिक्की पाख्रिन र सृजना छेत्री पनि उपस्थित रहेका थिए भने स्थानीय भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रतिनिधिहरु पनि उपस्थित रहेका थिए।

मालुटार चियाबारीको दोकानडाँडामा एक घर आगलागीमा जलेर नष्ट भएपछि फेरि पनि तीनधारे महानदी समष्टि क्षेत्रमा अग्निशमन केन्द्रको स्थापनाको मांग उठेको छ। मालुटार चियाबारीको दोकानडाँडामा भएको आगलागीमा देबेन्द्र सुब्बाको घर जलेर नष्ट भएको थियो भने अन्य दुई घरलाई पनि क्षति गरेको थियो। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै मालुटार चियाबारीको स्थानीय नरेश राईले मालुटार जस्तो दुर्गम क्षेत्रको नजिकतिर अग्निशमन केन्द्र नभएकोले यो दुर्घटना भएको र नजिकतिर नै अग्निशमन केन्द्र भएको भए समयमा नै दमकल आएर निभाउन सक्थ्यो भनी बताएका छन्।