(लघुकथा)    धर्म सङ्कट

0-0-Dharna-Sankat

               

विचरा महेन्द्र! कठैबरी!! धर्म, आस्था, भक्ति भनेपछि मरिमेट्छ ऊ। संयम्, सदाचार, नम्रता गुणसम्पन्न महेन्द्र आफ्नै परम्परागत विधानमा रुचि राख्ने गर्छ। तीर्थ, धर्म, अथवा पाठपूजा भनेपछि ऊ जहाँ पनि पुगेकै हुन्छ। धार्मिक प्रवृत्तिको निष्ठावान व्यक्तिले यस्ता धर्मीय परम्पराको उलङ्घन कहिल्यै गर्दैनन् भन्ने कुरामा हामी विश्वस्त पनि छौँ। धेरैवर्षअघि ऊ तीर्थ यात्रामा गएको थियो। हरिद्वार, ऋषिकेश यस्ता धेरै तीर्थस्थलहरूमा पुगेर पुण्य नकमाएको पनि होइन। त्यही बेला उसले कुनै सन्त महात्मासँग गुरूदक्षिणा धारण पनि गरेको थियो। विनिमयमा उसका गुरूले ऊमा भएका कुनै पनि एक अवगुण गुरुदक्षिणाका रूपमा त्यागेर घर फर्किने आदेश दिए। महेन्द्र बिलखबन्धनमा पर्‍यो। के त्यागौँ? मेरा त्यस्ता अवगुण पनि त छैनन्। हुन त मान्छे सर्वगुणसम्पन्न कहाँ हुन्छ र! कुनै न कुनै कमीकमजोरी अथवा अवगुण त हुन्छन् नै। महेन्द्र पनि अत्यधिक पान सुपारीको सेवन गर्दथ्यो। आखिर उसले यही अवगुणलाई त्याग्ने निर्णय गर्‍यो। गुरूको आदेश शिरोधार्य गर्दै उसले भन्यो, ‘आजदेखि म यो पान सुपारीको सेवन यहीँ त्याग्छु।’ ‘ठिकै छ आजदेखि यो नशायुक्त पान सुपारी खाने कु आदत त्यागेँ भन्दै भगवानलाई साक्षी राखी गङ्गामा डुब्की लगाऊ। आजबाट म यो कुआदतलाई आजीवन त्याग गरेँ भन्दै कसम खाऊ।’ महेन्द्रले त्यसै गर्‍यो। त्यसदिनदेखि आजका मितिसम्म महेन्द्रले पान सुपारी खाएको छैन।

उसको उमेर पनि अब त ढल्दैगएको छ। झन्डै साठी पुग्नै आँट्यो। उसका स्वभावमा भने केही परिवर्तन आएको छैन। जस्तो हिजो थियो आज पनि उ त्यस्तै नै छ। तर विडम्बना आज ऊ कुनै दुरारोग्य रोगको शिकार बनेको छ। त्यै पनि उसले अलिक दिन बाच्ने जिजीविषा भने बोकेकै छ। त्यसैले डाक्टर, धामी, झाँक्री धेरैसँग उपचार गराई सकेको छ। किनकि, उसलाई जिउनु छ। तर कतै पनि कुनै चिकित्साले उसको रोग निरामय गर्न सफल भएको छैन। यो क्रम चलिरहेको थियो। एकदिन कुनै वैद्यले सल्लाह दिँदै भने, ‘तिमी अलिक दिन बाच्न चाहन्छौ भने म तिमीलाई एक औषधी दिन्छु त्यो तिमीले नबिराई सेवन गर्नुपर्छ। तिम्रो रोग जाति हुन्छ। अथवा तिमीले त्यस्तो कुनै पीडाको भने सामना गर्नु पर्दैन।’

महेन्द्र खुशी हुँदै आवेगिक बन्दै भन्छ,’ मेरो सौभाग्य भगवानले हजुर जस्ता महानुभावको सान्निध्यमा मलाई ल्याई पुर्‍याए। म निश्चय हजुरले दिएको औषधी सेवन गर्नेछु। विनिमयमा जति पनि औषधीको मूल्य दिनुपर्छ म दिन तैयार छु।’ वैद्य भन्छन्, ‘त्यस्तो कुनै मूल्य पनि तिमीले मलाई दिनु पर्दैन। मात्र तिमी मैले दिएको यो औषधी आजीवन नियमित रूपले खाँदै जाऊ।’ महेन्द्रले वैद्यको सल्लाहलाई स्वीकार गर्छ।

महेन्द्रका हातमा एक टुक्रो सुपारी र एक पत्ता पान दिँदै वैद्य भन्छन्, ‘यो महौषध हो, तिम्रा निम्ति। दिनमा तीन-चारपटक लगातार यसको सेवनले तिम्रो उद्धार हुन्छ। तिमीजस्ता धेरै रोगी यो औषधी सेवन गरी निरोगी बनी सुखी जीवन अतिवाहित गरिरहेका छन्। यो औषधी तिमीले बाँचुनञ्जेल सेवन गर्नुपर्छ।’

        महेन्द्र छागाँबाट खसे जस्तो हुन्छ। किङ्कर्तव्यविमूढ बन्छ र मनमनै गम्छ, ‘ती गुरूका समिप खाएको कसम ईश्वर साक्षी राखी गङ्गामा डुब्की लाउँदै गरेको प्रतिज्ञा

त्यो बाचावन्धनलाई म अब कसरी तोडौँ?’ हरेक मान्छे मान्छेमा कुनै न कुनै चाहना इच्छा त हुन्छ नै। महेन्द्र भने मृत्युदेखि टाढा रहन चाहन्थ्यो, निरोगी जीवन बिताउन चाहन्थ्यो, स्वस्थ रहने आशा र जिउने तितिक्षा बोकेको हुनाले ति अघि खाएका कसम, बाचा-बन्धन तोड्न बाध्य भयो। त्यसैले आशा आकाङ्क्षा स्वार्थका समिप बाचा बन्धन अथवा प्रतिज्ञाको केही मूल्य रहदोँ रहेनछ। ईश्वरकोसम्म त्यो बेला कुनै अर्थ नहुँदो रहेछ। जिउने जिजीविषाका अघि नियम परम्परा अथवा विधि विधान पनि निरर्थक हुँदा रहेछन्। धर्मको मूल्य बिर्सिदिन मान्छे तत्पर हुँदो रहेछ। महेन्द्र यसको साक्षी बन्यो, वैद्यले दिएको त्यो पान सुपारी मुखमा हालेर मर्याक मर्याक चबाउन थाल्यो। दीर्घायु र स्वस्थ जीवन बिताउने आत्मविश्वास जगाई आजीवन पान सुपारी खाने प्रण लिएर उ घर फर्कियो।

                           अस्तु।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement