दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए) को तत्त्वावधानमा प्रतिष्ठित हर्ली मेमोरियल कप नक्आउट फूटबल टुर्नामेण्टको १०९औं संस्करण मंगलवारदेखि शुरु भयो। आज २ वटा म्याच खेलियो। गोर्खा स्टेडियम (लेबोंग) मा खेलिएको पहिलो म्याचमा सेण्ट जोसेफ्स कलेजले हिमालयन फूटबल क्लबविरुद्ध पेनल्टी शूटआउटमा ५-४ ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२ को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा सेण्ट जोसेफ्स कलेजको तर्फबाट रिञ्जी शेर्पा र प्रज्वल राईले गोल गरे। यसरी हिमालयन एफसी-को तर्फबाट प्रशान्त सुब्बा र मेण्डिज मंगरले गोल गरे। दोस्रो म्याचमा २/११ जीआर (गोर्खा राइफल्स) ले संकटा एफसीविरुद्ध पेनल्टी शूटआउटमा ६-५ ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१ को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा २/११ जीआर को तर्फबाट सागर लामाले गोल गरे। यसरी संकटा एफसी-को तर्फबाट अनमोल राईले गोल गरे। टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। फाइनल १५ अगस्तमा हुनेछ।