सिङ्ताम: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) को खामदोङ सिङ्ताम निर्वाचन क्षेत्रस्तरीय सभा यहाँको सामुदायिक भवनमा सम्पन्न भयो। सभालाई क्षेत्र विधायक एवं राज्य सरकारका सड़क एवं पुल मन्त्री एनबी दाहालले अध्यक्षता गरेका थिए। बैठकको उद्देश्य आगामी १० अगस्तको दिन रम्फूको खेल मैदानमा सिक्किम सरकारद्वारा आयोजना गरिन गइरहेको पहिलो आमा सम्मान दिवस सम्बन्धमा छलफल गर्नु रहेको थियो। सभामा विशेष गरेर उक्त ऐतिहासिक कार्यक्रममा खामदोङ सिङ्ताम क्षेत्रले निभाउनुपर्ने भूमिका बारे चर्चा भएको थियो।
सभालाई सम्बोधन गर्दै मन्त्री दाहालले राज्य सरकारका दुईवटा प्रमुख योजना आमा सशक्तिकरण र आमा सहयोग योजनाअन्तर्गता क्षेत्रका १ हजार लाभार्थीहरूसँग सोझो सम्पर्क अनि संवाद गर्ने पार्षद, पञ्चायत साथै पार्टीका कार्यकर्ताहरूलाई आग्रह गरे। यसको साथै उनले क्षेत्रका पार्टी कार्यकर्ता साथै सर्वसाधरणलाई आगामी कार्यक्रममा ठूलो सङ्ख्यामा उपस्थिति जनाएर कार्यक्रमलाई सफल बनाउने अपील पनि गरे।
सभामा सिङ्ताम नगर पञ्चायतका पार्षदहरू, जिल्ला अनि ग्राम पञ्चायत सदस्यहरू साथै सिकनका अध्यक्ष मङ्गलजीत राई अनि एसकेएम पार्टीका कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।









