गान्तोक: राज्यका मुख्य सचिव आर तेलाङको अध्यक्षतामा आज टाशीलिङ सचिवालयमा बसेको एक उच्चस्तरीय बैठकले आगामी २०२७ मा हुने जनगणनामाथि छलफल गऱ्यो। सभालाई सम्बोधन गर्दै मुख्य सचिव आर तेलाङले जनगणना प्रक्रियाको योजना कार्यान्वयन विषयमाथि जोड दिए। उनले थप जानकारी गराएअनुसार जनगनणाको क्रममा तथ्याङक सहि हुनुपर्ने र यसैको आधारमा राज्यले भविष्यमा केन्द्रीय प्रायोजित योजनाहरूको कार्यान्वयन र कोषलाई प्रत्यक्ष रूपमा प्रभाव पार्नेछ। उनले संलग्न सबै विभाग र अधिकारीहरूलाई गम्भीरताका साथ कार्यमा संलग्न हुनुपर्ने आग्रह गरे। राज्यमा लगभग १६ वर्ष पछि जनगणना हुन गइरहेको हुनाले यसको तयारी गर्नुपर्ने आवश्यकतामाथि जोड दिए। गृह विभागद्वारा गत २ अगस्तमा जारी गरिएको सूचनाअनुसार राज्य सरकारले मुख्य सचिवको अध्यक्षतामा उच्चस्तरीय राज्य जनगणना समन्वय समिति गठन गरेको छ।
उक्त समितिमा प्रमुख लाइन विभागहरूका वरिष्ठ अधिकारीहरू समावेश छन्। जसले प्रभावकारी अन्तर-विभागीय समन्वय र जनगणनाको सफल कार्यान्वयन सुनिश्चित गर्ने लक्ष्य राखेको छ।