सिलगढी: सिलगढीको हाकिमपाडामा अध्ययनरत गोर्खा समुदायकी चेलिहरूलाई लक्षित गर्दै गरिएको जातीय दुर्व्यवहार तथा लाञ्छनापूर्ण व्यवहारप्रति युवा शक्ति केन्द्रिय समितिले गम्भीर ध्यानाकर्षण गराउँदै कडा आपत्ति जनाएको छ। युवा शक्तिका अध्यक्ष अमृत योञ्जनले एक विज्ञप्ति जारी गर्दै घटनाप्रति घोर निन्दा गर्दै यस्तो आपराधिक र विभेदकारी प्रवृत्तिका दोषीहरूलाई यथाशक्य चाँडो कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित प्रशासनसँग माग गरेका छन्।
“हामी हाम्रो नै राज्य पश्चिम बंगालमा पनि अझै जातीय पहिचानका आधारमा हेपिने, विभेदमा पारिने अवस्थाबाट गुज्रिरहेका छौं,” विज्ञप्तिमा उल्लेख गरिएको छ। “शिक्षा प्राप्त गर्न आएका विद्यार्थीमाथि गरिएको व्यवहार न केवल अपमानजनक छ, यो सामाजिक सहिष्णुतामाथिको आघात पनि हो।”
योञ्जनले यस्तो घटनाले सामाजिक सद्भाव र आपसी समझदारीमा प्रतिकूल असर पार्ने खतरा रहेको भन्दै गोर्खा समुदायका नागरिकहरूप्रति गरिने कुनै पनि प्रकारको विभेद र लाञ्छनाको घटनालाई गम्भीरताका साथ लिनुपर्ने आवश्यकता औंल्याएका छन्।
युवा शक्ति केन्द्रिय समितिले सम्पूर्ण गोर्खा समुदायलाई शान्तिपूर्ण तर संगठित ढंगले आफ्ना अधिकार र गरिमाका लागि सचेत रहन पनि अपिल गरेको छ।