आलोचनाले निराश विनेश फोगाटखेलाड़ीहरू पनि मानिस हुन्, रोबोट होइनन्

IMG-20220920-WA0091.jpg

२० सेप्टेम्बरः विश्व कुश्ती च्याम्पियनशीपमा स्वर्ण पदक जित्ने प्रत्याशालाई पूरा गर्न नसकेपछि सोशल मीडियामा भइरहेको आलोचनालाई निराशाजनक बताउँदै भारतीय महिला पहलवान विनेश फोगाटले खेलाड़ीहरू रोबोट होइनन भनिन्। यसको साथमा विनेशले यस प्रकारको आलोचनाको संस्कृतिलाई समाप्त गर्न आफ्ना साथी खेलाड़ीहरूलाई मेहनत गर्न जारी राख्ने सल्लाह दिइन्। वनेशले बेलग्रेडमा गत हप्ता ५३ किग्रा भार वर्गमा काँस्य पदक जितेका थिइन्। उनले विश्व कुश्ती च्याम्पियनशीपमा दुईवटा पदक जितेर इतिहास रचिन्। यस उपलब्धिलाई हासिल गर्ने उनी देशकी पहिलो महिला पहलवान हुन्। यसबीच क्वालीफिकेशन राउण्डमा मंगोलियाकी खुलान बटखुयाग विरुद्ध ०-७-ले निराशाजनक हारको सम्मुखीन भएपछि चाहिँ सोशल मीडियामा उनको निक्कै आलोचना भएको थियो। उनले पछिबाट असाधारण पुनरागमन गर्दै रेपेचेजमा दुई राउण्डपछि काँस्य पदकको लड़ाइँ कुनै पोइण्ट नगुमाइ आफ्नो नाम गरिन्। सोशल मीडियामा भएको आलोचनाले २८ वर्षीय खेलाड़ी निक्कै आहत छिन्।
विनेशले सोशल मीडियामा जारी पोस्टमा लेखेकी छन्, खेलाड़ी पनि मानिस हुन्। खेलाड़ी हुनुको अर्थ हामीले कुनै पनि टुर्नामेण्टमा रोबोट जस्तो काम गर्नु पर्छ भन्ने होइन। यस्तो संस्कृति भारतमा मात्र छ कि अन्य देशहरूमा पनि छ भन्ने मलाई थाहा छैन। मानिसहरू घरमा बसेर विशेषज्ञ बन्छन्। व्यक्ति पेशादार होस् कि नहोस् तर आफ्नो यात्रामा उनीहरूले कठिनाई, संघर्ष र चुनौतीहरूको सामना गर्नु पर्छ। उनीहरू टिप्पणी गर्दैनन्। सीधै आलोचना गर्छन्। आलोचना गर्दा उनीहरू स्वयंलाई पेशादार करियरको विशेषज्ञ नै ठान्छन्। एथलीटहरूका लगातार आलोचनामाथि प्रश्न उठाउँदै विनेशले भनिन्, हामी एकजना एथलीटको रूपमा हरेक कुराको जवाफदेही किन हुनु। एथलीटहरूले समर्थन र प्रोत्साहनको सट्टा उनीहरूका प्रशिक्षणलाई लिएर कटु टिप्पणीहरूको सामना गर्नु पर्छ। यी सब कुराहरूले एथलीटहरू हतोत्साहित हुन्छन्। मानिसहरू केही नसोची एथलीटहरूले कहिले आफ्नो करियर समाप्त गर्नु पर्छ, कहिले खेल्नु पर्छ अनि कहिले खेल्नु हुँदैन भन्ने विषयमा टिप्पणी गरिरहेका हुन्छन्। एउटा जीतको अर्थ एथलीटले असाधारण केही गरेर देखाएको होइन। यसरी नै एउटा हारको अर्थ एथलीटले खेलको अवधि प्रयास नै नगरेको पनि होइन। जीत र हार एकजना एथलीटको यात्राको हिस्सा हो। एथलीटहरूले हरेकपल्ट कठोर मेहनत गर्छन्।
विनेशले बताएअनुसार, आलोचकहरूलाई खेलाड़ीहरूका प्रयास र संसाधनहरूबारे कुनै जानकारी हुँदैन। उनले भनिन्, यी चीजहरूमाथि टिप्पणी गर्नु सजिलो हुन्छ कारण उनीहरूका निम्ति त्यो केवल म्याच हेरेको दिनको कुरा हो। त्यस समय खेलाड़ीहरू कतिको दबाउमा हुन्छन् भन्ने उनीहरूलाई कुनै अन्दाज हुँदैन। सोशल मीडिया प्रशंसक र समर्थकहरूसँग जोड़िने असल मञ्च हो तर यसमा नकारात्मक टिप्पणीहरू गरेर खेलाड़ीहरूलाई हतोत्साहित गर्ने कुनै अर्थ छैन। यसको साथमा विनेशले साथी एथलीटहरूलाई सपना देख्न जारी राख्ने अनि कठोर मेहनत गर्ने सल्लाह दिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement