गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको प्रचार-प्रसार र सोशल मिडिया शाखाको एक परिचयात्मक एवं समन्वय सभा आज रम्फूमा सम्पन्न भयो। पार्टीका प्रवक्ता एवं मुख्यमन्त्रीका प्रेस सल्लाहकार बिरेन्द्र तामलिङको अध्यक्षतामा सम्पन्न सभामा पार्टीको प्रचार-प्रसार शाखाका उपाध्यक्ष प्रभारी जेकब खालिङ, सोशल मिडिया उपाध्यक्ष प्रभारी विकास बस्नेत, प्रवक्ता कृष्ण लेप्चा, योगेन तामाङ लगायत अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो। यस अवसरमा उपस्थित राज्य र जिल्लास्तरका पदाधिकारीहरूले अन्तर्क्रिया गर्दै आ-आफ्नो सुझाउ व्यक्त गरे। सभालाई सम्बोधन गर्दै ताम्लिङले पुराना दिनहरू अर्थात् विपक्षमा रहँदा पार्टीको प्रचारको क्रममा हुनेगरेका कष्ट र अवरोधहरूको सम्झना गरे। उनले कुनै पनि काम सानोबाट शुरु गरिनुपर्ने र आफ्नो कामप्रति प्रतिबद्ध रहे सफलता त्यही प्रतिबद्धताले दिने बताए। यसरी नै सभालाई सम्बोधन गर्ने क्रममा प्रचार प्रसार शाखाका उपाध्यक्ष प्रभारी एवं मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले पार्टीमा पद पाउनु पार्टीले दिएको ठूलो सम्ममान रहेको बताए। उनले भने, “पार्टीको प्रचार प्रसार र शोसल मिडिया शाखामा रहेर काम गर्ने पदाधिकारीहरू आफू जलेर अरुलाई उज्यालो दिने क्यान्डल जस्तै हुन्। पार्टीले कसैलाई पद दिएको खण्डमा आफ्नो धरातलीय अवस्था बिर्सनु हुँदैन।” कुनै पनि राजनीतिक पार्टीलाई बलियो बनाउने मूल खाँबो नै प्रचार प्रसार अनि सोशल मिडिया शाखा भएकोले यस शाखामा बसेर काम गर्न चुनौतीपूर्ण हुने बताए। सम्बोधन गर्ने क्रममा शोसल मिडिया उपाध्यक्ष प्रभारी विकास बस्नेतले एसकेएम पार्टी विपक्षमा हुँदा प्रचार प्रसारको काम गर्दा हुनेगरेको दुख-कष्टलाई सम्झिए। उनले भनेअनुसार वर्तमानमा एसकेएम पार्टी सरकारमा आउँदा पनि पार्टीको प्रचार प्रसार र सोशल मिडियाकर्मीले उत्तिकै डटेर काम गर्दै आइरहेको बताए। पार्टीलाई अझ सशक्त बनाउनका लागि नेता एवं पार्टी अध्यक्षको निर्देशलाई पालन गरी अनुशासनात्मक ढंगमा काम गर्ने आह्वान गरे।










