गेजिङ: सिक्किमका म्याराथनम्यान नामले प्रसिद्ध धावक अमर सुब्बाले उत्तराखण्डको उच्च हिमाली भूभागमा आयोजित एक महत्वपूर्ण परीक्षण दौड सफलतापूर्वक पूरा गरेका छन्। उत्तराखण्ड सरकारको विशेष आमन्त्रणमा सुब्बाले १०,५०० फिट उचाइमा रहेको गञ्जीदेखि १७,५१३ फिट उचाइमा अवस्थित आदि कैलाश र पार्वती कुण्डसम्मको ४० किलोमिटरको दुर्गम हिमाली मार्गको म्यापिङ र परीक्षण दौड पूरा गरेका छन्। आगामी अक्टोबर महिनामा आयोजन हुने “आदि कैलाश उच्च हिमाली म्याराथन” का लागि मार्ग निर्धारण र वातावरणीय चुनौतीहरूको मूल्याङकन गर्ने उद्देश्यले सो परीक्षण दौड आयोजना गरिएको थियो।
सुब्बाको दीर्घ अनुभव र साहसिक क्षमताका कारण उत्तराखण्ड सरकारले उनलाई विशेष आमन्त्रण गरेका थिए। मार्ग परीक्षण सफलतापूर्वक सम्पन्न गरेपछि, अमर सुब्बाले उत्तराखण्ड सरकारलाई धन्यवाद ज्ञापन गर्दै उक्त पहलमा आफ्नो सल्लाह र अनुभव उपयोग गर्न पाएकोमा गर्व व्यक्त गरे। यसअघि २९ मई २०२५ मा आयोजित विश्वकै उच्चतम “एभरेस्ट म्याराथन” मा अमर सुब्बाले गौरवपूर्ण दोस्रो स्थान हासिल गरेर अन्तर्राष्ट्रियस्तरमा सिक्किमको नाम उजागर गरेका थिए। सुब्बाको यो अविरल प्रयास, साहस र समर्पणले सिक्किम मात्र नभई सम्पूर्ण भारतका साहसी खेलाडीहरूलाई प्रेरणा प्रदान गर्दै आएको छ।