पाकिम: पाकिमको सेन्ट जेभेयर्स विद्यालय खेल मैदानमा ७९औं स्वतन्त्रता दिवसको अवसरमा आयोजित खुल्ला फुटबल प्रतियोगिता शुरु भयो। यसअवसरमा सिक्किम सरकारका ग्रामीण प्रबन्धन विकास विभागीय मन्त्री अरूण उप्रेती मुख्य अतिथिकारूपमा उपस्थित रहेका थिए। पाकिम जिल्ला स्पोर्टिङ क्लब र जिल्ला प्रशासनिक केन्द्रको संयुक्त पहलमा आयोजित प्रतियोगिता स्वतन्त्रता दिवससंगै सिक्किम राज्य स्थापनाको ५०औं वर्षगाँठ महोत्सवको अवसरमा आयोजन गरिएको हो। विशेष गरेर नशामुक्त सिक्किम अभियानलाई बढावा दिने उद्देश्य र थिममा आधारित कार्यक्रममा पश्चिम पाण्डाम निर्वाचन क्षेत्रका जिल्ला पञ्चायत विवेक छेत्री, सिक्किम राज्य पञ्चायती राज विभागका अध्यक्ष बीबी छेत्रीलगायत अन्य वरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो। यस अवसरमा तीनवटा खेल खेलाइएको थियो। जसमा पहिलो खेल अन्तर विद्यालयस्तरीय भयो। जसमा १४ वर्ष भन्दा कम उमेरका खेलाडीहरूको निम्ति आयोजन गरिएको थियो। उक्त प्रतियोगिता टिकालाल निरौला सरकारी वरिष्ठ माध्यमिक विद्यालय बनाम दामलाखा निम्न माध्यमिक विद्यालयबीच सम्पन्न भएको थियो। जसमा टिकालाल निरौला वरिष्ठ माध्यमिक विद्यालयले शून्यकोविरूद्ध चार गोल गऱ्यो। यसरी नै दोस्रो खेल छुजाचेन बनाम पाचे युनाइटेडबीच सम्पन्न भएको थियो। जसमा, छुजाचेनले १ गोलकोविरूद्ध दुई गोल गरेर अघिलो चरणमा प्रवेश गर्न सफल बन्यो। यस खेलमा छुजाचेनका खेलाडी प्रदीप लामालाई म्यान अफ् द म्याच घोषित गरियो। सोही प्रकारले तेस्रो खेल ब्रदर्सहुड एफसी बनाम डेञ्जोङ बोयजबीच सम्पन्न भएको थियो। जसमा ब्रदर्शहुडले एकको विरूद्ध दुई गोल गर्दै अघिलो चरणमा स्थान पक्का गऱ्यो। उक्त प्रतियोगितामा ब्रदर्सहुडका खेलाडी साहिल छेत्रीलाई म्यान अफ् द म्याच घोषित गरियो।