गान्तोक: दक्षिण सिक्किमको नाम्चीमा सिक्किम डेमोक्रेटिक फ्रण्टको जिल्ला पदाधिकारीहरूको सभा जिल्ला प्रभारी श्रीमती सकुन गुरुभको अध्यक्षतामा सम्पन्न भयो। सभामा नवनियुक्त जिल्ला सभापति, उपसभापति, महासचिव, सचिव, सल्लाहकारहरू तथा विगतको निर्वाचनमा मल्ली क्षेत्रका पार्टी उम्मेदवार निर्मल प्रधान साथै चेली मोर्चा प्रमुख श्रीमती कोमल चाम्लिङको विशेष उपस्थिति रहेको थियो।
सभामा युवा मोर्चा, चेली मोर्चा, विद्यार्थी मोर्चा र प्रचारप्रसार शाखाले आगामी दिनमा पार्टीलाई अझ बलियो बनाउने लक्ष्यका साथ कसरी योजनाबद्ध ढंगमा काम गर्ने भन्ने विषयमा गम्भीर छलफल गरियो। साथै जिल्लाका सम्पूर्ण कार्यकर्ताबीच निरन्तर समन्वय, सहकार्य र सम्पर्कमा रहनुपर्ने विषयमा सबैले एकमत जनाए। प्रत्येक महिना नियमित रूपमा जिल्ला सभा आयोजना गर्ने पनि सभामा प्रस्ताव पारित गरियो।
सभालाई रिवस लिम्बू (युवा महासचिव), श्रीमती अमृता दियाली (उपसभापति, चेली मोर्चा), अरूण लिम्बू (उपसभापति, श्रमिक मोर्चा), रिकजिङ नर्बु दोर्जी भोटिया (पार्टी प्रवक्ता) र ईश्वर प्रसाद राई (महासचिव, मोटिभेसनल) ले आ-आफ्नो मन्तव्य राखे।
सभालाई सम्बोधन गर्दै सभाध्यक्ष श्रीमती सकुन गुरूङले एसडीएफ पार्टीलाई समावेशी, युवामुखी र जनमुखी पार्टीको रूपमा प्रस्तुत गर्दै यस पार्टीबाटै सिक्किमको सुरक्षित भविष्य सुनिश्चित हुने विश्वास व्यक्त गरिन्। साथै सबैलाई उत्साहपूर्वक र समर्पित ढंगले काम गर्न अपील पनि गरिन्।